Sajhamanch Archive

चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जनश्रमदान गर्दै युवा

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज, by .

चितवन । भरतपुर नगरपालिका वडा नं. १५ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रारम्भिक चरणको काम धमाधम भइरहेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशाला निर्माणस्थलमा कार्यालय स्थापना गरी अस्थायी संरचना निर्माणको काम गरिरहेको हो । आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने भएपछि चितवनबासी निकै उत्साहित भएका छन् ।

निलो जस्तापाताले वरिपरी बारेको चौरभित्र कोही ढुङ्गा बोकिरहेका छन् त कोही मसला मुसिरहेका छन् । कोही जग खन्दैछन् भने कोही गोदाम घर र सेक्युरिटी रुम निर्माणमा जुटेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि अस्थायी संरचना बनाउने काम सकिनै लागेको छ । अस्थायी कम्पाउण्डिङ, कामदार बस्ने घर, गोदाम घर, अस्थायी भ्यूु टावरजस्ता प्रारम्भिक चरणको काम सम्पन्न हुन लागेको धुर्मुस सुन्तली फाउण्डेसनका परियोजना व्यवस्थापक अर्जुन न्यौपाने बताउँछन् ।

फाउण्डेशनले रंगशाला नजिकै शान्तिचोकमा कार्यालय स्थापना गरी काम गरिरहेको छ । दैनिक ५० जना कामदारले काम गरिरहेको न्यौपानेले जानकारी दिए । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले उपलब्ध गराएको २० विगाहा ८ कट्ठा क्षेत्रफलमा बनाइने रंगशाला निर्माणका लागि ३ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला भनिए पनि क्रिकेटमात्र नभएर अन्य खेलहरुका लागि पनि संरचना निर्माण गरिने परियोजना व्यवस्थापक न्यौपाने सुनाउँछन् ।

प्राविधिक टोलीले डीपीआर निर्माणको काम गरिरहेकाले असारसम्म तयार गरिसक्ने लक्ष्य राखिएको व्यवस्थापक न्यौपानेको भनाई छ ।डीपीआर तयार गरी पछि रंगशाला शिलान्यास भएपछि २ वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको फाउण्डेशनले जनाएको छ ।
सबै क्षेत्रबाट सकारात्मक सहयोगसँगै आर्थिक स्रोत जुटाउने कार्यमा धुर्मुस–सुन्तली फाउण्डेशन लागिपरेको र विभिन्न चरणमा छलफलहरु भइहरेको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताएका छन् ।

राष्ट्रकै गौरवका रुपमा रहेको अन्तर्राष्ट्रिय रंगशाला आफ्नै ठाउँमा बनाइने भए पछि चितवनबासी पनि औधी खुसी भएका छन् । टोल विकास संस्थाहरु, आमा समूह, स्थानीय युवा समूहहरु हरेक दिनजसो श्रमदानमा जुटिरहेको पाइएको छ । सबै नेपालीको अपनत्व रहने गरी जनताको लगानीमा बन्न लागेको विश्वकै पहिलो रंगशाला भएकाले सहयोग गर्न धुर्मुस–सुन्तली फाउण्डेशनले सबैलाई आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *