नेताका ‘चाकडीबाज’लाई विमानस्थलमा निषेध ! हुलहुज्जत नियन्त्रण गर्न मापदण्ड
Published:
by .विराटनगर । राजनीतिक दलका नेता विमानस्थलमा ओर्लिंदा स्वागतका नाममा भीआईपी कक्षमा अनावश्यक रुपमा ‘चाकडीबाजहरू’ भेला हुने गर्छन् । सीमित मात्रामा स्वागत गर्ने कार्यकर्ता आवश्यक हुने नै भएपनि भीआईपी कक्षमा अनावश्यक भीडभाड हुने प्रवृत्ति अधिकांश ठाउँमा देखिन्छ ।
तर अब त्यस्ता अनावश्यक ‘चाकडीबाज’ले विमानस्थलमा भीडभाड गर्न पाउने छैनन् । हुलहुज्जत र भीडभाड नियन्त्रण गर्न विराटनगर विमानस्थल व्यवस्थापनले मापदण्ड लागू गर्ने तयारी गरेको छ । विमानस्थल व्यवस्थापनको पहल र प्रयासलाई राजनीतिक दलको स्थानीय नेतृत्व लगायत सरोकारवालाले समेत सहमति दिएका छन् ।
विराटनगरमा संवाद समूहले आयोजना गरेको संवादमा भीआईपी कक्ष व्यवस्थापन लगायत विषयमा छलफल भएको छ । भीआईपी कक्षमा दलका नेता तथा कार्यकर्ताको अत्याधिक भीडभाडले विमानस्थल सुरक्षामा समस्या देखिएको सुरक्षा तथा नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । छलफलमा भीआईपी कक्षको भीड नियन्त्रण गर्न र अनावश्यक कार्यकर्तालाई निषेध गर्न सरोकारवाला, राजनीतिक दल, प्रहरी, प्रशासन र नागरिक उड्ययन प्राधिकरण एकमत भएका छन् ।
राजनीतिक दलले मापदण्ड बाहिर र नियमावली विपरीत बढी कार्यकर्ता लैजाने कामलाई रोक्ने र प्रहरी प्रशासनले विमानस्थलभित्र बढी कार्यकर्ता प्रवेश गर्न नदिनेबारे सहमति बनेको छ । संवादमा विमानस्थलभित्र राजनीतिक दलका नेतासँग विशिष्ट कक्षमा हुने भेटघाट कार्यक्रमलाई विमानस्थलमा नराख्नेबारे काम शुरू गर्ने दलहरूले प्रतिवद्धता जनाएका छन् ।
दलहरूले समस्यालाई समाधान गर्नेतर्फ उन्मुख भइरहँदा पूर्वाधार निर्माणको विषयमा पनि विमानस्थलले प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । पूर्वाधार तथा संरचना निर्माण गर्ने काम व्यवस्थित रुपमा व्यवस्थापन गर्ने, सामूहिक रुपमा विधि बनाउने र सबैले पालना गर्नेबारे सबै सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । सेवाग्राही तथा सूचनाको हकका अभियन्ता राजु श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाइरहँदा आन्तरिक व्यवस्थापन, सुशासन, टिकट व्यवस्थापन, विमान समयमा नउड्ने समस्या पनि उस्तै नै रहेको बताए । सर्वसाधारणदेखि पार्टीका कार्यकर्तासम्मलाई भीआईपी को–को हुन् भन्ने जानकारी नै नभएकाले जानकारी दिइनुपर्ने बताए ।
नेकपाका नेता गोपी आछामीले प्रदेशको राजधानी भएकाले सबै मुख्यमन्त्रीदेखि मन्त्री र सांसदहरू विमानस्थल जाने परिपाटीले विमानस्थल अस्तव्यस्त भएको बताए । उनले यस्तो परिपाटी नै ठीक नभएको बताए । राजनीतिक दलभित्र पनि समस्या रहेको बताउँदै उनले भने, ‘कार्यकर्तालाई बोलाएन भने कार्यकर्ता रिसाउने गरेका छन्,’ उनले भने, ‘केही प्राविधिक कठिनाइ रहेको छ, त्यसलाई व्यवस्थित त गर्नैपर्छ ।’
सर्वदलीय बैठक बोलाउने र निर्णय गरेर अगाडि बढाउने हो भने विमानस्थलमा दलका कार्यकर्तालाई नलैजान र मिडिया पनि नजाने कि भन्ने आफ्नो तर्क रहेको उनले बताए । ‘भीडभाडले सुरक्षा चुनौती चाहिँ बढेकै महसुस भएको छ,’ उनले भने । नेपाली कांग्रेसका नेता मोदराज घिमिरे केही नेताले भीड नल्याउन भन्दै शुरूवात पनि गरेको र केही नेता भने मोरङ जिल्लाले वास्तै नगर्ने गरेको समेत भन्ने गरेको बताए । ‘कसले बढी भीड जम्मा गर्ने’ भन्ने होड रहेको स्वीकार गर्दै होडबाजी चल्नु राम्रो कुरा नभएको उनले बताए ।
नेकपाका नेता महेश रेग्मीले विधिबाट समस्या समाधानमा जानुपर्ने बताए । ‘समस्या पनि हामी नै हो, समाधान पनि हामी नै हौं,’ उनले भने, ‘मनोविज्ञानलाई फेर्नको लागि समय लाग्छ । तर काम आजैदेखि शुरू गर्नुपर्छ ।’ राप्रपाका नेता टंक गुरागाईंले राप्रपाको पनि कार्यकर्ताभित्रै लैजानुपर्छ भन्ने मान्यता नभएको बताए । ‘सबैले कार्यकर्ता विमानस्थलको भीआईपी कक्षदेखि विमानको ढोकासम्म नै पुर्याउने प्रवृत्ति रोकिनुपर्छ,’ उनले भने ।
प्रदेश सांसद जयराम यादवले विमानस्थलको भीआईपी कक्ष हालसम्म आफूले प्रयोग नगरेकाले विमानस्थलमा भीड लगाउनुको अर्थ नभएको बताए । ‘विमानस्थलमा भीड लगाउनुभन्दा पार्टी कार्यकर्ताको कार्यक्रममा भीड लगाएर देखाउनुपर्छ,’ उनले भने । राजपाका केन्द्रीय सदस्य भोगेन्द्र यादवले साना दल र ठूला दलबीच भेदभाव गरेको बताए । ‘ठूला दलले भित्रैसम्म कार्यकर्ता लैजान्छन् तर साना दलको त्यस्तो छैन,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालयमा प्रमुख मनोज केसीले विमानस्थल सुरक्षाको दृष्टिले संवेदनशील रहेको बताए । प्रदेशको अस्थायी राजधानी भएकाले विराटनगरमा भीडभाड बढेको भन्दै उनले भीडभाडले असुरक्षा र संवेदनशीलता बढ्ने बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले विराटनगर विमानस्थल समस्याभन्दा अवसरको खानी रहेको बताए । भारतको बागडुग्रादेखि थाइल्याण्डसम्म विराटनगरबाट नै उडान गर्न सकिने बताए ।
‘भीभीआईपी, भीआईपीलाई किन विशेष कक्ष दिइन्छ ? दिइने व्यवस्थाबारे सबैले बुझ्न जरुरी छ,’ उनले भने, ‘मेरो स्वागतमा कति मान्छे आउँछन् भन्ने कुरालाई नै ध्यान दिइनुपर्छ । समस्याबारे सबैले बुझेपछि समाधानका विकल्पबारे पनि छलफल शुरू हुन्छ, अहिले त्यो भएको छ ।’
नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलाले भीआईपीलाई लिने र छाड्ने कुरा समस्याको रुपमा रहेको छ । ‘पुर्याउनेभन्दा पनि रिसिभ गर्ने कुरा समस्याको रुपमा रहेको छ,’ उनले भने । दैनिक १५ जनाभन्दा बढी भीआईपी विमानस्थलबाट आउने गरेका छन् । राजनीति पार्टीको माग अनुसारको केन्द्रीय कमिटीका सदस्यलाई समेत कक्ष प्रयोग गर्न दिइएको छ ।
उनले विमानस्थल सुधारका लागि भएको पहललाई सकारात्मक लिँदै आगामी दिनमा रिक्सा भाडा व्यवस्थापनदेखि भित्रको भीआईपी व्यवस्थापनको काममा समेत तत्काल काम थाल्ने बताए । कार्यक्रममा सिटीसफारी, टेम्पो, रिक्साको भाडा १५ दिनभित्र व्यवस्थापनको काम गरिने सहमति समेत भएको छ ।
Comments