सामाजिक विकासमन्त्री घिमिरेले गरे एसईई परीक्षा केन्द्रमा अनुगमन
Published:
by .विराटनगर । सुनसरीका केही परीक्षा केन्द्रहरुमा अमर्यादित रुपमा एसइईको परीक्षा सञ्चालन भइरहेको पाइएको छ । प्रदेश एक सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनको क्रममा केही परीक्षाका केन्द्रमा मर्यादाविपरीत शंकास्पद गतिविधि भएको पाइएको हो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले बुधबार सुनसरीका आधा दर्जन परीक्षा केन्द्रहरुको अनुगमन गरेको छ । मन्त्री घिमिरेसहित मन्त्रालयका निमित्त सचिव दिव्यराज कट्टेल र सञ्चारकर्मीहरुको टोलीले सुनसरीका परीक्षा केन्द्रहरुको निरीक्षण गरेको हो ।
सो क्रममा अधिकांश विद्यालयहरुमा मर्यादितरुपमा परीक्षा सञ्चालन भएको देखिए पनि केही केन्द्रहरुमा परिक्षाको मर्यादाविपरीतका गतिविधि भएको फेला परेको थियो । केन्द्रमा टोली पुग्दा परीक्षालाई मर्यादित बनाउन खटिएका गार्डहरु अस्वाभाविक रुपमा चलायमान भएका देखिन्थे ।
निरीक्षण टोली परीक्षा केन्द्रको गेटमा पुग्दा उनीहरु टोली आएको सूचना प्रवाह गर्न चलायमान भएको सहजै अनुमान गर्न सकिन्थ्यो । अन्य केन्द्रहरुमा मन्त्रीको नेतृत्वमा अनुगमन टोली आउने सूचना पहिल नै पाइसकेकाहरु त्यसै सर्तक भएका थिए भने केही ठाउँमा मर्यादित र नियमसंगत ढंगले नै परीक्षा संचालन भएको थियो ।
सो बिषयमा प्रतिक्रिया दिनुहुंदै निरीक्षण टोलीका सहभागी मन्त्रालयका निमित्त सचिव दिब्यराज कट्टेलले परीक्षा मर्यादितरुपमै सञ्चालन भएको दाबी गरे । निरीक्षणपछि प्रतिक्रिया दिँदै मन्त्री घिमिरेले भने निरीक्षणको क्रममा केही कमीकमजोरी फेला परेको स्वीकारे । उनले त्यस्ता कुराहरु सुधार्न पहल गरिने प्रष्ट पारे ।
निरीक्षण टोलीले धरान–८ गंगालाल मार्गस्थित सहिद स्मृति माध्यमिक विद्यालय, धरान–१२ चतरा लाइनस्थित पब्लिक हाईस्कुल, इटहरी–४ स्थित कचना महादेव माध्यमिक विद्यालय, इटहरी–९ स्थित जनता माध्यमिक विद्यालय र इटहरी–१२ खनारस्थित शारदा माध्यमिक विद्यालयमा राखिएको परीक्षा केन्द्रहरुको अनुगमन निरीक्षण गरेको छ ।
सुनसरीमा १२ हजार ५ सय ९७ विद्यार्थीले ४८ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा दिइरहेका छन ।
Comments