आफैंले बनाएको निर्देशिका विपरीत नगरस्तरीय खेलकुद समिति गठन !
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाले गठन गरेको नगरस्तरीय खेलकुद समिति बिर्तामोड खेलकुद विकास निर्देशिकाविपरीत भएको खुलेको छ । स्थानीय राजपत्रमा प्रकाशित बिर्तामोड खेलकुद विकास निर्देशिका २०७५ को मर्म र नियमलाई कुल्चिँदै नगरपालिकाले गत फागुन २८ गते १३ सदस्यीय खेलकुद समिति गठन गरेको थियो ।
नगर कार्यपालिकाको बैठकले आफैंले बनाएको निर्देशिकाको खिल्ली उडाउँदै समिति बनाएपछि एकजना सदस्यले राजीनामा समेत दिइसकेका छन् । बिर्तामोड ५ का विकास गिरीले एक विज्ञप्ति निकालेर पद त्याग गरेका हुन् । उनी पूर्वफुटबलर हुन् ।
नगरपालिकाले वडा नम्बर १ का सदस्य टिका संग्रौलाको संयोजकत्वमा १३ सदस्यीय समिति गठान गरेको थियो । नगरपालिकाले यही चैत ११ गते पत्र पठाएर सबै सदस्यलाई जिम्मेवारी तोकिएको बारे जानकारी दिइसकेको छ ।
निर्देशिकाको परिच्छेद २ मा बिर्तामोड खेलकुद समिति गठन तथा काम कर्तव्य र अधिकारबारे प्रस्ट परिएको छ । तर, परिच्छेदमा उल्लेख भएबमोजिम समिति गठन गरिएको छ । नियमविपरीत गठन भएकाले सदस्य परिवर्तन गरे मात्र समिति वैधानिक हुनेछ । परिच्छेद २ को बुँदा नम्बर ४ (१) (क) अनुसार खेलकुद समितिको अध्यक्ष नगर कार्यपालिका बोर्डले नगरसभाका सदस्यमध्येबाट तोकेको एकजना व्यक्ति हुने भनिएको छ । जसअनुसार समिति संयोजकमा वडा सदस्य संग्रौला छन् ।
त्यस्तै, परिच्छेद २ को बुँदा नम्बर ४ (१) (ख) अनुसार खेलकुद समितिको उपाध्यक्षमा खेलकुद क्षेत्रका विज्ञहरु मध्येबाट नगरप्रमुखले तोकेको एकजना व्यक्ति हुने भनिएको छ । तर, नगर कार्यपालिकाले दुईजना सहसंयोजक बनाएको छ, जुन निर्देशिका विपरीत छ । जिम्मेवारी तोकिएका दुईजना सहसंयोजकमध्ये दुर्गाराज निरौला कराते प्रशिक्षक हुन् भने केशव भण्डारी खेलकुद पृष्ठभूमिका होइनन् ।
भण्डारी युवा संघका कार्यकर्ता हुन् । तर, उनलाई भलिबल खेलबाट प्रतिनिधित्व गराइको छ । परिच्छेदले एकजना मात्र उपाध्यक्ष हुने भनेकाले निरौला वा भण्डारीमध्ये एकजनालाई हटाइनुपर्छ नत्र समिति कानुनविपरीत हुनेछ ।
त्यस्तै, परिच्छेद २ को बुँदा नम्बर ४ (१) (ग) अनसार खेलकुद समितिको सदस्य हुनका लागि खेलकुदका विभिन्न विधाबाट १२ जना हुने भनिएको छ । तर, नगर कार्यपालिकाले सदस्यमा ९ जनालाई मात्र जिम्मेवारी तोकेको छ । परिच्छेदमा १५ सदस्यीय समिति गठन गर्ने भनिए पनि १३ सदस्यीय मात्र समिति बनाइएको छ । समितिका अधिकांश सदस्य खेलकुद पृष्ठभूमि त्यस्तै, समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुने भनिए पनि २३ प्रतिशत मात्र महिला सहभागिता रहेको छ ।
Comments