Sajhamanch Archive

नसर्ने रोगहरुका कारण विश्वमा प्रत्येक वर्ष ३ करोड ८० लाख मानिसको मृत्यु

Published: (Updated: ) in स्वास्थ्य, by .

मेचीनगर । नसर्ने रोगहरुका कारण विश्वमा प्रत्येक वर्ष ३ करोड ८० लाख मानिसको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ । आइतबार काँकरभिट्टामा सम्पन्न स्वास्थ्य प्रवद्र्धन मेरो वर्ष अभियान, महामारी, सर्ने नसर्ने रोकथाम प्रजनन तथा बाल वातारण स्वास्थ्य आदि स्वास्थ्य चेतना सम्बन्धि अभिमुखीकरण गोष्ठीमा प्रस्तुत प्रतिवेदन यस्तो देखाएको हो ।

विश्व स्वास्थ्य संगठनको आधारमा कार्यक्रमका सहजकर्ता स्वास्थ्य कार्यक्रम विशेषज्ञ व्रजेश मेहताले प्रस्तुत गरेको प्रतिवेदनमा ३ करोड ८० लाख मध्ये २ करोड ८० लाख मानिस अल्पविकसित र अति विकसित देशका छन् ।

नसर्ने रोगहरुबाट मृत्यु हुने १ करोड ६० लाख जना ७० वर्ष अघिका रहेका छन् भने यसको ८२ प्रतिशत अल्पविकसित र अति कम विकसित मुलुकका छन् । नसर्ने रोगहरुमध्ये १७ दशमलव ५ प्रतिशत सवैभन्दा बढी मुटु समस्याबाट ग्रसित मानिस छन् । त्यस पछि क्यान्सरबाट ८२ लाख श्वास प्रश्वाससँग सम्बन्धित २० लाख, मधुमेहबाट १५ लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले काँकरभिट्टाको स्वास्थ्य केन्द्रमा आयोजना गरेको गोष्ठीमा मेहताले मेरो बर्ष २०७५ को आवश्यकता तथा औचित्वमाथि प्रकाश पार्दै अस्वस्थ जीवनशैलीका कारण हुने नसर्ने रोगहरुले पार्ने व्यक्ति, परिवार, समाज र देश विकासमा नकारात्मक प्रभाव पारेको र यसका सम्भावित असर रोक्न र व्यक्तिगत जीवनशैलीको अवस्थामा सुधार ल्याउन विभिन्न उपायहरु अपनाउनु पर्ने आवश्यक रहेको विचार राखेका थिए ।

नसर्ने रोगहरु सम्बन्धी समस्या र चुनौतीको संक्षिप्त अध्ययन गर्दा त्यस्ता उपायहरु सहज रुपमा गर्न सकिने, सजिलै उपलब्ध हुने र सबैले प्राप्त गर्न सकिने खालका र नसर्ने रोगहरुका अवस्था सुधार गर्ने यी उपायहरु कम खर्चिलो पनि भएको सहभागीलाई उहाँले जानकारी दिए ।

आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हक र स्वस्थ्य रहन पाउनु हामी सबैको अधिकार हो । हरेक नागरिकलाई स्वस्थ्य राख्नु नेपाल सरकारको दायित्व हो । सरकारले यो दायित्वलाई पूरा गर्न आफ्नो प्रतिवद्धता अनुरुप सेवा र कार्यक्रमहरुलाई विस्तार र शुलभ गर्दै लगेको मेहताले बताए । सरकारको यो प्रतिबद्धतामा हामी सवैले आफ्नो स्वास्थ्यको जिम्मेवारी आफै लिन तयार हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा संयोजक शशीकला राईले सञ्चालनसहित स्वगत र नयाँ बर्षको शुरुवातसंगै स्वस्थ्य मार्गमा हिड्न ८ वटा प्रतिवद्धता सहित स्वस्थ्य सहभागी सवैलाई जीवनशैली अपनाउने संकल्प गराएका थिईन् । ‘स्वस्थ्य रहन पाउनु तपाईको अधिकार हो । हरेक नागरिकलाई स्वस्थ राख्नु सरकारको दायित्व हो । सरकार आफ्नो दायित्व पुरा गर्न दृढ छ । सरकारको यो दृढतामा तपाईको पनि साथ चाहिएको छ । अधिकारसंगै आफ्नो जिम्मेवारी पनि पुरा गरौं ।’ संकल्प पत्रमा उल्लेख छ ।

म तनावरहित जिबनशैलीलाई आत्मसात गर्छु , म रक्सी, चुरोट, र सुर्तिजन्य पदार्थबाट टाढै रहन्छु , म नियमित व्यायाम गर्छु , म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य जाच गराउछु , म प्रदूषण नियन्त्रणमा सजक रहँदै आफ्नो घर र समुदाय सफा राख्छु , म ट्राफिक नियम पालन गर्छु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजक रहन्छु भन्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नगर स्वास्थ्य शाखाले नगरका बाहुनडाँगी, काँकरभिट्टा, धुलावारी, ज्यामिरगढी, धाइजन र दुहागढीमा यो कार्यक्रम समापन गरेको संयोजक राईले बताईन् ।

धन्यावाद ज्ञापनसहित समापन मेचीनगर वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न दलका प्रमुख प्रतिनिधिहरु, सुरक्षा निकायका उच्च अधिकृतहरु, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरु स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मीसहितको सहभागिता रहेको थियो ।

मेचीनगरको वडानम्बर— ४ बाहुनडाँगीमा भएको कार्यक्रममा सहभागीलाई प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा समेत अवगत गराइएको वडाध्यक्ष नवीन वरालले बताए । उनका अनुसार रोजगार संयोजक कृपा रेग्मीले सहभागीहरुलाई विवरण भर्ने यसका नियम कानुनका बारेमा प्रशिक्षणमुलक रुपमा जानकारी गराएकी थिईन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *