Sajhamanch Archive

प्याज विशेष कार्यक्रम असफल हुँदा करोडौं रुपैयाँ बाहिरियो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल भएको छ । यसले आत्मनिर्भर अर्थतन्त्रको गफ हाँक्ने सरकारी असफलता पनि प्रष्ट गर्छ । हरेक नेपालीको भान्सामा विहान वेलुका चाहिने प्याजमा मात्र वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको छ ।

काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा १६ करोड रुपैयाँ बराबरको प्याज नेपाल आयात भएको छ । २०६४ सालमा सरकारले झापासहित तराईका विभिन्न जिल्लामा प्याज विशेष कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

ऐन कानुन बनाउने ,महत्वकांक्षी योजनाहरु ल्याउने अनि तत्काल घोषणा गरिहाल्ने तर त्यसको कार्यान्वयनमा भने सरकार कहिल्यै गम्भीर नबन्ने सरकारी कमजोरीले प्याज विशेष कार्यक्रम असफल भएको हो । कार्यक्रमले निरन्तरता पाउन नसकेकै कारण सरकारले योजना नै खारेज गरेको सरकारी अधिकारीहरु बताउँछन् ।

प्याजको आयात घटाउँदै नेपाली प्याजलाई अन्तर्राष्ट्रिय वजारमा पुर्याउनका लागि तराईका झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दियालगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन ल्याएको थियो । योजना असफल भएपछि नेपाल प्याजका लागि समेत परनिर्भर बनेको छ । नेपालमा प्याज उत्पादन नभएपछि निर्यात भने शुन्य रहेको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७५ ÷०७६ को फागुनमहिनासम्ममा ८ करोड ५६ लाख ५० हजार रुपैयाँ मुल्य बराबरको २ हजार ८ सय ५५ मेट्रिक टन प्याज आयात भएको कार्यालयका प्राविधिक सहायक विनयकुमार साहले जानकारी दिए । उनका अनुसार वितेको आर्थिक वर्ष २०७४ ÷०७५ को एकवर्षे अवधिमा १६ करोड २७ लाख २० हजार रुपैयँँ मुल्य बराबरको ५ हजार ४ सय २४ मेट्रिक टन प्याज आयात भएको थियो । पूर्वी नाका भएर आयात हुने ताजा तरकारीमध्ये प्याज अग्रपक्तिमा रहेको छ ।

आर्थिक वर्ष २०७०÷७१ मा काँकरभिट्टा नाका हुँदै २६ करोड रुपैयाँभन्दा बढीका ताजा तरकारी नेपाल आयात भएको थियो । २७ प्रकारका ताजा तरकारी सबै भारतबाट आयात भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । आयातित तरकारी मध्ये सबैभन्दा अग्रस्थानमा प्याज नै छ । आर्थिक वर्ष २०७०÷०७१ मा ११ करोड ६ लाख ८१ हजार रुपैयाँ मुल्य बराबरको चार हजार ५४ मेट्रिक टन प्याज नेपाल भित्रिएको कार्यालयले जनाएको छ ।

यसैगरी आर्थिक वर्ष २०७१÷२०७२ मा १९ करोड ९९ लाख १ हजार रुपैयाँ बराबरको ६ हजार १ सय ६१ र आर्थिक वर्ष २०७२÷ २०७३ मा २४ करोड ६६ लाख ६७ हजार रुपैयाँ मुल्य बराबरको ७ हजार ९ सय ५७ मेट्रिक टन प्याज आयात भएको थियो ।

आर्थिकवर्ष २०७३÷ ०७४ मा १७ करोड ४३ लाख ३० हजार रुपैयाँ मुल्य बराबरको ५ हजार ८ सय ११ मेट्रिक टन प्याज आयात भएको थियो । प्याज भारतका विभिन्न प्रान्तबाट आयात हुने गरेको छ । कृषिमा आयाततर्फ कार्यालयले दुईसय रुपैयाँ आयात इजाजत दस्तुर र निर्याततर्फ एकसय रुपैयाँ निर्यात दस्तुर लिने गरेको छ । व्यापारीलाई प्याज आयात गरे वापत ५ प्रतिशत कृषि शुल्क बाहेक सबै महसुल नेपाल सरकारले निःशुल्क गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

सरकारी मिसनमा प्याजको भण्डारण गर्न ‘स्टोरेज हाउस’ निर्माण गर्ने समेत योजना थियो । पथलैया, वुटवल कोहलपुरमा ‘भेन्टीलेटर प्याज’ घर निर्माण गर्ने योजना मिसनमा भएपनि मिसनका कुनै पनि योजना पुरा नभएको क्वारेन्टाइन अधिकारीहरु बताउँछन् । सरकारको छनौटमा परेका स्थानहरुमा कतै पनि निर्माण कार्य शुरु नभएका कारण योजनाहरु अधुरै रहेपछि सरकारले कार्यक्रम बन्द गरेको हो । मिसनमा भएका योजनाहरु कार्यान्वयन गर्न नसक्दा मिसन प्रभावकारी बन्न नसकेको हो । ‘ सरकारले निक्कै महत्वका साथ यो कार्यक्रम ल्याएको थियो’ कृषि विज्ञ रामजनम झाले भने—‘उद्देश्य अनुरुप योजना सफल हुन सकेन् र तीन वर्ष अघि नै योजना बन्द भयो ।’

सरकारले छनौट गरेका सबै ठाउँमा निर्माण गर्ने योजना कागजमै मात्र सिमित भएका कारण पनि योजना असफल भएको सरोकारवालाहरुको भनाई छ । सम्बनिधत निकायको निष्क्रियताका कारण कार्यक्रम प्रभावकारी नबन्दा वर्षेनि नेपाली बजारले भारतबाट आयातित प्याजको भर पर्नुपरेको छ । प्याज विशेष कार्यक्रम प्रभावकारी बनाउन नसक्दा प्याजका लागि अर्काको भरपर्नु परेको स्थानीय जानकारहरु बताउँछन् । प्याजखेती बृद्धि न्यून रुपमा हुनु, लक्षित जमिनको हेक्टर नपुग्नु र ‘भेन्टीलेटर प्याज’ घर निर्माणका लागि सम्बन्धित सहकारी संस्थाहरुलाई आव्हान गर्दा समेत खासै चासो नदेखाउनुले पनि उत्पादनमा घटेर निर्यात बढाउन नसकिएको कार्यालयले जनाएको छ । ‘उत्पादन भएलगत्तै खपत गरिहाल्नु पर्छ नत्र कुहिने सडिने डर हुने भएकाले किसान हत्तपत्त व्यावसायिक प्याज खेतीमा नलाग्नु मुख्यः कारण’ भएको कृषि प्राविधिक मुकेशकुमार चौरसियाको भनाई छ ।

नेपालमा प्याज उत्पादन हुने भए पनि भण्डारणको व्यवस्था पर्याप्त नभएका कारण व्यबसायिक रुपमा प्याज खेतीप्रति किसानको आर्कषण घटेको उनी बताउँछन् । ‘नेपालमा प्याजको माग अनुसार उत्पादन छैन’ चौरसिया भन्छन्— ‘नेपालको उत्पादनले करिव ६ महिना पनि पुग्दैन नेपालमा उत्पादन नै छैन उत्पादन भएको प्याजले ६ महिना पनि पुग्दैन अनि कसरी निर्यात होस !

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *