Sajhamanch Archive

समिट एयरको विमान लुक्लामा दुर्घटना, पाइलटसहित तीनको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

काठमाडौं  । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो । दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् ।

उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।
दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिएका छन् ।

प्रजिअ रानाका अनुसार आइतबार बिहान समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । ‘हवाईजहाज चिप्लिएर अनियन्त्रित भई हेलीप्याडसम्म पुगेर ठोक्किएको प्रारम्भिक रिपोर्ट आएको छ,’ प्रजिअ रानाले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *