आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत:पुरुष फुटबलमा एपिएफ विजयी
Published:
by .नेपालगञ्ज ।आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपिएफ विजयी भएको छ । एपिएफको तेस्रो खेलमा यो दोस्रो जित हो ।
२–० गोलको अग्रता लिएर पनि ५ नम्बर प्रदेशसँग पराजित भएको एपिएफले शनिबार बिहान भने गण्डकीसँग ‘कम्ब्याक’ गरेको छ । गण्डकी प्रदेशले अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । गण्डकीका टीकाराज गुरुङले २७ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
एक गोलले पछि परेको एपिएफले मध्यान्तरपछि आक्रमक खेल खेल्यो । ५७ मिनेटमा राजेन्द्र रावलको गोलबाट एपिएफ खेलमा फर्किएको थियो । निर्धारित समयको अन्तिममा ७९ मिनेटमा आशिष लामाले गोल गरेपछि एपीएफको जित निश्चित भएको थियो ।
गण्डकी प्रदेशले अहिलेसम्म खेलेका तीन खेलमै अग्रता लिएको थियो । तर, जित निकाल्न सकेको छैन । सुरुवाति अग्रता लिएर पनि पहिलो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको गण्डकी दोस्रो खेलमा ३ नम्बर प्रदेशसँग अंक बाँडेको थियो । ३ नम्बर प्रदेशसँगको खेलमा पनि गण्डकीले अग्रता लिएको थियो । अन्तिममा २–२ गोल भएको थियो ।
एपीएफले भने पहिलो खेलमा १ नम्बर प्रदेशलाई ६–३ गोलले विजयी भएको थियो भने दोस्रो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको थियो ।
शनिबार नै अपरान्ह चार बजे लगातार दोस्रो जीत निकालेको ५ नम्बर प्रदेशले १ नम्बर प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । १ नम्बर प्रदेशले अहिलेसम्म खेलेका दुवै खेलमा पराजय व्यहोरेको छ ।
Comments