देश सुशासन र समृद्धितर्फ अघि बढिसक्योः प्रधानमन्त्री ओली
Published:
by .नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढेको दाबी गरेका छन् । नमुना नवलपुर सदरमुकामको शिलन्यास कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुसासन र समृद्धितर्फ देश अघि बढेको दाबी गरेका हुन् ।
‘केहिदिन अघि मात्र शिलन्यास गरिएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा काम तीब्र गतिमा अघि बढेको छ’, ओलीले भने, ‘त्रिवेणी कोरला सडक खण्डको काम पनि धमाधम भैरहेको छ, पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन वेको काम पनि सकिएको छ, अब विकास निर्माणकै कामले गति लिनेछ ।’
राजनितिक भाषण गरेका प्रधानमन्त्री ओलीले समग्र देशमा भैरहेका विकास निर्माणका कामले द्रुत गति लिएको बताउँदै कुनै पनि नागरिकलाई शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चित हुन नदिने ठोकुवा गरे ।
उनले देशका दुर्गम क्षेत्रमा रहेका महिलाहरु सुत्केरी हुने बेलामा उपचार नपाएर अकालमै आमा र शिशुको ज्यान जाने अवस्था अब सँधैका लागि अन्त्य गरिने पनि बताए । ‘अब कोहि पनि महिलाले अकालमै ज्यान गुमाउनु पर्दैन, प्रत्येक ठाउँमा हेलिकप्टरबाट उद्वार गरेर अस्पताल पु¥याइन्छ’, ओलीले भने ।
अहिले भर्ना अभियान चलिरहेकाले कोहिपनि बालबालिका बिद्यालयको पहुँच बाहिर हुन नहुने भन्दै ओलीले भने, ‘तपाईहरुका छिमेकमा पनि बिद्यालय नगएका बालबालिका छन् भने विद्यालयसम्म पु¥याउने वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य हो ।’
प्रधानमन्त्री ओलीले विद्यार्थी भर्ना अभियान सफल बनाउन सबै सरोकारवाला निकायलाई निर्देशन समेत दिए । जेष्ठ नागरिकलाई निशुल्क एक लाख बिमा, यसैवर्ष ४ सय झोलुङ्गे पुल निर्माण, ८ सय किलोमिटर सडक कालोपत्रे लगायतका काम भैसकेको उल्लेख गर्दै सबैले एकतावद्ध भएर अघि बढे समृद्धि आफ्नै आँखा अगाडी देखिने प्रधानमन्त्रीको भनाई छ ।
नवलपुर सम्भावनाको खानी भएको भन्दै देशकै सबैभन्दा ठूलो फलामखानी नवलपुरमै रहेकाले यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने दावी गरे । उनले फलामखानी सञ्चालनमा ल्याएर यहाँका वेरोजगारहरुलाई रोजगार मात्र दिने नभइ समग्र देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउनेमा आफू विश्वस्त रहेको बताए ।
उनले रेलको सर्भे पनि सकिएकाले पूर्वपश्चिम रेल गुडाउने, गण्डकी र कोशीमा पानी जहाज चलाएरै छाड्ने दावी गरे । उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल समेत सहभागी थिए ।
यसैगरी, प्रतिनिधिसभा सदस्य तिलक महत, गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता कृष्ण चन्द्र नेपाली पनि कार्यक्रममा सहभागी थिए ।
Comments