कांग्रेस सभापति देउवाको आरोपः भोट नहाल्नेहरुले कमजोर प्रतिपक्ष भनेर हल्ला फिजाए
Published: (Updated: )
by .भद्रपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट नहाल्नेहरूले कमजोर प्रतिपक्ष भनेर हल्ला फैलाएको आरोप लगाएका छन् ।
झापाको दमकमा क्षेत्र नम्बर ५ को कार्यालय भवन उद्घाटन गर्ने क्रममा चन्द्रगढी विमानस्थलमा आइपुगेका देउवाले नेपाल प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसित संक्षिप्त कुराकानी गर्दै भोट कम्युनिष्टलाई हाल्ने अनि काँग्रेस कमजोर भयो भनेर हल्ला गर्ने भन्दै आक्रोस पोखेका हुन् ।
सभापति देउवाले भोट दिने बेला काँग्रेस नचाहने अनि संसदमा प्रतिपक्षले बलियो उपस्थिति नदेखाएको भन्दै कांग्रेसको बदनाम मात्र गर्न खोजेको आरोप लगाए । उनले कांग्रेसको प्रतिपक्षीय भूमिका कमजोर नभएको दाबी समेत गरे ।
सभापति देउवाले कांग्रेसलाई कमजोर बनाउन गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाइएको दाबी गरे । ‘प्रजातान्त्रिक पार्टीमा व्यक्तिका फरक विचारहरु पनि आउँछन् । यसलाई गुट–उपगुट भनेर गलत व्याख्या गरी हल्ला फैलाइयो ।’ सभापति देउवाले सरकार अधिनायकवादको बाटो लागिरहेको तर्क गरे । उनले प्रधानमन्त्रीले मन्त्री परिषदको अधिकार आफूमा निहित गर्नु, प्रेस स्वतन्त्रतालाई संकुचित पार्नु तथा सञ्चारकर्मीमाथि विद्युतीय कारोवार ऐनको नाममा धरपकड गर्नु अधिनायकवादको बाटो रोजेको प्रष्ट हुनु हो भन्दै तर्क गरेका हुन् ।
पत्रकारसँग कुरा गर्दै सभापति देउवाले बालुवाटारको विवादित जग्गा सुर्वण शम्शेरको भएकोले उनकी श्रीमती ललितादेवीले भोगचलन गर्ने अधिकार हुनु पर्ने जनाए । सरकारले अधिग्रहण गरेको जग्गा कसैले पाउने भए सुर्वणका सन्तानले नै पाउनु पर्ने समेत बताए ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को कार्यालय उद्घाटनकालागि सभापति देउवासहित प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य सरिता प्रसाईं, ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेताहरू आएका थिए । तीन कोठे पक्की भवन रू १० लाख बढीको लागतमा निर्माण गरिएको झापा क्षेत्र नं–५ का सभापति ढुण्डी भण्डारीले जानकारी दिए ।
Comments