Sajhamanch Archive

पृथ्वी दिवसको अवसरमा एनएमसी वनवाटिकाको शुभारम्भ

Published: (Updated: ) in सहकारी by .

दुहागढी । अन्तर्राष्ट्रिय पृथ्वी दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले वनवाटिकाको शुभारम्भ गरेको छ ।

संस्थाले रजत वर्षको उपलक्ष्यमा घोषणा गरेको २५ वटा कार्यक्रम मध्ये वनवाटिका पनि एक थियो । संस्था अन्तर्गतको मेचीनगर–१४ स्थित एनएमसी एकीकृत नमुना कृषि परियोजनामा सो वनवाटिकाको शुभारम्भ गरिएको हो ।

सोमबार प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले वृक्षारोपण गरी वनवाटिकाको शुभारम्भ गरेका थिए । प्रमुख अतिथि समेत रहेका बुढाथोकीले कार्यक्रममा बोल्दै राज्यको मात्र मुख नताकेर एनएमसीले पर्यावरणीय संरक्षणमा गरेको यसप्रकारका प्रयासको प्रशंसा गर्नु पर्ने बताए । एकीकृत नमुना कृषि परियोजनाको सुरुवातले कृषि क्षेत्रको महाविद्यालयको रुपमा विकसित यस क्षेत्रको अबको पहिचान बन्ने लक्ष्यसहित एनएमसीलाई अघि बढ्न र आफू त्यसमा सहयोग गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीले नमुना कृषि परियोजनाको अवधारणालाई विस्तृत रुपमा लैजान लागेको र राज्य र सम्बन्धित निकायले यसमा सहयोग गरे छिट्टै नजिता निकाल्न सकिने बताए । ‘सहयोगको अपेक्षा छ तर सहयोग बिना नै पनि हामी यसलाई सफल बनाउन लागिपर्ने छौँ’ अध्यक्ष उप्रेतीले भने–‘कृषि पेसालाई हेर्ने अबको दृष्टिकोणमा फरकपन आउनुपर्छ, कृषि पेसालाई व्यवसायिकता दिन, सिक्न र सिकाउन नै नमुना कृषि परियोजनाको मुख्य उद्देश्य हो ।’ कार्यक्रममा सहिद दशरथचन्द मावि र दुर्गा आवासीय माविका विद्यार्थीले समेत वृक्षारोपण गरेका थिए । संस्था अन्तर्गतको एनएमसी स्टुडेन्ट सेभिङ क्लब गठन भएका दुवै विद्यालयका विद्यार्थीले एकसयभन्दा बढी विरुवा रोपेका थिए ।

वनवाटिकाको शुभारम्भसँगै अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) अन्तर्गत एसिया प्यासेफिक युथ कमिटि र अफ्रिका युथ कमिटिको संयुक्त आह्वानमा विश्वभर गो ग्रीन क्याम्पेन २.० मनाइएको छ । लोपोन्मुख जातका रुख, बोट बिरुवाको संरक्षणका लागि सो दिन विश्वभर वृक्षारोपण गरिएको छ ।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्तिका लागि जारी गरिएका १७ वटा बुँदामध्येको बुँदा १३ अनुसार विश्वभरी अप्रेल २२ तारिख विश्व पृथ्वी दिवसका अवसर पारेर सो क्याम्पेनको आयोजना गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै एनएमसीका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले यसप्रकारको कार्यक्रमले एनएमसीको मात्र नभई मुलुककै छवि अन्तर्राष्ट्रियस्तरमा पुग्ने हुनाले पर्यावरणीय क्षेत्रमा एनएमसीले विगतदेखि नै काम गर्दै आएको र आगामी दिनमा पनि संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा मेचीनगर वडा नं. १४ का वडा अध्यक्ष शंकर पोखरेल, एनएमसी नमुना कृषि परियोजनाका संयोजक केशवप्रसाद पोखरेल, संस्थाका सञ्चालक समिति सदस्यहरु नारायण कोइराला, माधवचन्द्र प्याकुरेल, वरिष्ठ प्रबन्धक सूर्यप्रसाद मैनाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्था अन्तर्गतको आन्तरिक लेखा परीक्षण विभाग प्रमुख मनिष कोइरालाले गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *