Sajhamanch Archive

मादक पदार्थ घरेलु हिँसाको मुख्य कारण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

ईटाभट्टा । पछिल्लो समय मादक पदार्थका कारण घरेलु हिँसा बढेको भन्दैं यसको नियन्त्रण र निरुत्साहितका लागि विभिन्न चेतनामुलक कार्यक्रम अघिसार्न सोमबार मेचीनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा आयोजना गरेको ‘टि वीथ टिम’ सहकर्मीहरुसँगको एक कप चिया कार्यक्रममा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा विशेषगरी लागूऔषधको नियन्त्रण, महिला तथा घरेलु हिँसालाई कसरी रोक्ने अनि ट्राफिक व्यवस्थापनका बारेमा छलफल भएको थियो ।

समुदाय प्रहरी मेचीनगरपालिका समितिका सहसंयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले नगरपालिकामा आउने अधिकाँश उजुरी श्रीमान श्रीमतीबीचको झै झगडा भएको बताईन् । उनका अनुसार झगडाको मुख्यः कारण मादक पदार्थ सेवन नै रहेको छ । मादक पदार्थ नियन्त्रण गर्न सके घरेलु हिँसामा समेत कमि आउने उपप्रमुख उप्रेतीले विश्वास व्यक्त गरिन् ।

सार्वजनिक जग्गा, राजमार्ग अतिक्रमण गरी निर्माण सामाग्री राख्ने जस्का कारण दुर्घटना हुने प्रवल सम्भावना रहेकोले यसको नियन्त्रणमा सरोकारवाला निकाय लाग्नुपर्ने सहभागीहरुको भनाई थियो । नगरमा सञ्चालन भएका होटलहरुलाई एउटा निश्चित समयसम्म खोल्न दिने, मादक पदार्थ सेवन गर्न चाहाने व्यक्तिलाई व्यवसायीहरुले निश्चित मात्रामा समेत दिनुपर्ने, घरेलु मादक पदार्थलाई निरुत्साहित गर्नुपर्ने, मादक पदार्थ मापन गर्नुपर्ने तथा होटलहरुको छड्के अनुगमन गर्नुपर्ने, प्रत्येक होटलहरुले आफ्ना होटलमा आउने ग्राहकको सम्पूर्ण परिचय खुल्ने गरी अभिलेख राख्नुपर्ने, बालश्रम शोषणको अन्त्य गर्नुपर्ने तथा नगरमा हुने यौन क्रियाकलापलाई तत्काल रोक्नुपर्ने सहभागीहरुले आवाज उठाएका थिए ।

प्रहरी समुदाय प्रहरी मेचीनगरपालिका समितिका सदस्य सचिव इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापाले पालिकास्तरीय संघ संस्थासँग हातेमालो गदैं नगरमा हुने विभिन्न आपराधिक गतिविधिहरु नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको बताए । उनले स्थानीय सरकारले नगरभित्रका होटलहरुलाई रातको समयमा कति बजेसम्म खोल्न दिने त्यसको ठोस नीति बनाउन समेत आग्रह गरेका थिए । प्रहरी स्थानीय तह, समुदाय सामाजिक संघ स.स्था विद्यालयबीच साझेदारी निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्नु, समुदाय स्तरमा अपराध रोकथामलाई प्राथमिकतामा राखी सामुहिक प्रयास गर्ने, दीगो र दीर्घकालिन साझेदारी संयन्त्र निर्माण गर्न विद्यमान परिस्थिती र भावी कार्यदिशाको सम्बोधन गर्न, विकास र सुरक्षाबीचको आत्मनिर्भरतालाई एकीकृत रुपमा आत्मसात गर्न, सुरक्षा सचेतना अभिवृद्धि गर्ने संरचनागत प्रणालीको विकास गर्न स्थानीय तहमा सेवा प्रवाहमा सुरक्षाको प्भावकारी समन्वय कायम गर्नू समुदाय प्रहरी साझेदारीको औचित्य रहेको प्रहरी नायव उपरीक्षक थापाले प्रष्ट पारेका थिए ।

प्रहरी निरीक्षक कोमल ठाकुरले प्रहरीले अहिलेसम्म समाजमा गरेका विभिन्न चेतनामुलक कार्यक्रमका बारेमा विचार राखेका थिए । छलफलमा समितिका अन्य पदाधिकारीहरुले समेत आ आफ्नो विचार राखेका थिए । कार्यक्रमको सञ्चालन मेची सामुदायिक प्रहरी सेवाकेन्द्रका महासचिव गंगाप्रसाद कोइरालाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *