क्यान्सरपीडित एनोजलाई १० लाख बढी सहयोग हस्तान्तरण
Published: (Updated: )
by .बिर्तामोड । १७ वर्षीय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइनगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक सेवामा समर्पित सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाले आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत सो रकम उनकी आमा आइतमाया राईलाई हस्तान्तरण गरेको हो ।
अभियानका आर्थिक सहयोग संकलन संयोजक अजय खवासका अनुसार भेलोरमा उपचारर्त अवस्थामा ४ लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो भने बाँकी ५ लाख ३० हजार ८ सय ६० रुपैयाँ आज हस्तान्तरण गरिएको हो । संस्थाका उपाध्यक्ष प्रकृति खड्काले सहयोग संकलन कार्य जारी रहेको बताउँदै १ महिनापछि पीडितको अपरेशन हुने बताइन् ।
दाहिने कुममा ट्यूमर भएर क्यान्सरमा परिणत भएका एनोजको उपचारको क्रममा परिवारमा आर्थिक अभाव भएपछि परिवारको बिशेष आग्रहमा सो संस्थाले विगत एक महिनादेखि अभियान सञ्चालन गरेको थियो । चितवनस्थित भरतपुर क्यान्सर अस्पताल लगायत विभिन्न अस्पतालमा उपचार गरेपनि सम्भव नदेखिएपछि थप उपचारको लागि उनलाई भारतको भेलोर लगिएको आमा आइतमायाले बताइन् ।
विगत १५ महिनादेखि विरामी भएका एनोजको भेलोरमा २ महिना उपचार पश्चात डाक्टरको सल्लाह अनुसार घाउ सुकाउने महिना दिनकोे औषधी लिएर आएका छन् । एक महिनाको औषधी पश्चात अप्रेशनका लागि उनी पुन भेलोर फर्किन्छन् ।
झापा, इलाम लगायतका जिल्लाका विभिन्न स्थानबाट अभियान मार्फतसहयोग सङ्कलन भइरहेको संस्थाका सचिव आइत लिम्बुले जानकारी दिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष झलक धिमाल, सदस्य सुष्मा लिम्बु लगायतको उपस्थिति रहेको थियो ।
बिरामीको बुबा धनबहादुर राईले छोराको उपचारको लागि अझै १० लाख बढि लाग्ने जानकारी पाएको हुदा सहयोगी मनहरुलाई सहयोग गर्न अपिल गरेका छन् । उनले सहयोगका लागि आकाश शुब्बाको एस बी आई बैङ्कमा रहेको खाता न.ं१८२१५२४१४०९२९५ वा ९८१७९२३९१०, ९८१७९०५३६६ मा सम्पर्क राखिदिन अनुरोध गरेका छन् ।
Comments