चिया श्रमिकको समस्या तत्काल समाधान गर्न माग
Published:
by .बिर्तामोड । आन्दोलनरत चिया श्रमिकहरुले उठाएका मागहरु कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको शनिबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
चिया श्रमिकहरुले सरकारले लागू गरेको ऐन, नियम कार्यान्वयनको माग गर्दै सडक आन्दोलनमा रहेकाले उनीहरुको जायज माग पूरा गर्नुको विकल्प नरहेको वक्ताहरुले बताए । वीरता लेडी जेसीजले शनिबार १०३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा ‘नेपालको संविधानमा श्रमिक अधिकारको सुनिश्चितता’ विषयक् अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा झापाका मानव अधिकारकर्मी, अधिवक्ता, टे«ड युनियनका प्रतिनिधि र चिया श्रमिकको उपस्थिति थियो । उनीहरुले चिया श्रमिकलाई न्यूनतम ज्याला र सेवासुविधा प्राप्त गर्न श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन अक्षरस कार्यान्वयन गर्नुको विकल्प नरहेको निकष्र्ष निकालेका थिए । मानव अधिकारकर्मी डा. रुपक खनालले उद्योगीले आफ्नो पेशा, व्यवसाय सुरु गर्दा श्रमिकका लागि गर्नुपर्ने पुँजीको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । उनले उद्योगीले श्रमिकका लागि पुँजी सुनिश्चित नगरेकै कारण मुलुकमा श्रमिकले न्यूनतम सेवा सुविधा समेत प्राप्त गर्न नसकेको बताए ।
नेपाल बार एसोसिएसन झापाका उपाध्यक्ष नारायण पौडेलले संविधानमा श्रमिकको हक, अधिकार सुनिश्चित भएकाले सोभन्दा बाहिर गएर श्रमिकलाई सेवा सुविधा नदिने भन्ने कुरा नहुने बताए । उनले संविधानले दिएको हक, अधिकार लिन श्रमिकहरु पनि अगाडि बढ्नुको विकल्प नरहेको बताए । नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले संविधान, ऐन, नियममा उल्लेख भएको अधिकार समेत नपाएकाले चिया श्रमिक सडक आन्दोलनमा आउनुपरेको बताए । उनले सरकारले लागू गरेको श्रम ऐन ९ महिनासम्म कार्यान्वयन नहुँदा उद्योगी व्यवसायीले कानुनको धज्जी उडाएको आरोप लगाए । उनले यस पटकको चिया श्रमिकको आन्दोलन राज्यको कानुन कार्यान्वयन तथा प्राप्त अधिकार प्राप्तिका लागि भएकाले सहयोग गर्न सबैलाई आग्रह गरे ।
अधिवक्ता खगेन्द्रप्रसाद खरेलले कानुनभन्दा बाहिर गएर कुनै पनि क्षेत्रका उद्योगी व्यवसायीले श्रमिकलाई काममा लगाउन सक्ने अवस्था नरहेको बताए । उनले चिया श्रमिकले सरकाले लागू गरेको कानुन कार्यान्वयनको माग गर्दै सडक आन्दोलन गरिरहेकाले यसलाई संवाद मार्फत समाधान गर्न सरोकालवाला पक्ष तत्काल लाग्नुपर्ने बताए । उनले कानुन कार्यान्वयन नगर्ने उद्योगी व्यवसायीविरुद्ध चिया श्रमिक कानुनी कारबाहीमा जान सक्ने सुझाव दिए । अखिल नेपाल चिया बगान मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटाले ऐन कार्यान्वयन नगर्ने उद्योगी व्यवसायीलाई सरकारले कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरिन ।
चिया श्रमिकहरु श्रम ऐन कार्यान्वयनको माग गर्दै गत चैत १७ गतेदेखि अनिश्चितकालीन आन्दोलनमा छन् । न्यूनतम ज्याला तथा अन्य सेवा सुविधा समेटिएको ऐन कार्यान्वयनको माग गर्दै झापाका करीब ३० हजार चिया श्रमिक आन्दोलनमा छन् । आन्दोलनका कारण जिल्लामा ३५ वटा चिया प्रशोधन कारखाना र साना किसान र ठूला उद्योगीका गरी करीब ५ सय चिया बगानमा काम ठप्प छ ।
वीरता लेडी जेसीजकी अध्यक्ष सरु भूर्तेल खनालको अधयक्षमा भएको कार्यक्रममामा विभिन्न क्षेत्रमा कार्यरत तीन जना श्रमिक महिलालाई सम्मान समेत गरिएको थियो । लेडी जेसीजले मोटरसाइकल मेकानिक काम गर्दै आत्मनिर्भर बनेकी मेचीनगर नगरपालिका १३ चारआलीकी निर्मला परियार र करीब ५० बर्षदेखि चिया बगानमा कार्यरत श्रमिक अर्जुनधारा नगरपालिका ११ की डेलकुमारी थापा क्षेत्रलाई नगद, दोसल्ला र सम्मान पत्रले सम्मानित गरेको थियो । त्यस्तै श्रमि उषा कोइरालालाई पनि नगद र दोसल्लाले सम्मान गरिएको थियो ।
लेडी जेसीजकी महासचिव सुष्मा भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य मन्जु न्यौपानेले, जेसीज आस्था वाचन विमला भट्टराई, कार्यक्रममाथि प्रकाश युनिता दवाडी र जेसीज भिजन संगीता गिरीले राखेकी थिइन ।
Comments