Sajhamanch Archive

दाँतको समस्याबाट कसरी छुटकारा पाउने ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by .

हामीले आफ्नो दाँतलाई कसरी सुरक्षित राख्ने भन्ने ज्ञान नहुँदा दैनिक रुपमा विभिन्न समस्याहरु भोगिरहेका हुन्छौं । यदि हामीले दाँतलाई सुरक्षित राख्ने उपायहरु अवलम्बन गर्न सक्यौँ भने दाँत सम्बन्धी समस्याबाट सधैँका लागि छुट्कारा पाउन सक्छौ ।

चिकित्सकहरुका अनुसार निम्न कुराहरुलाई हाम्रो दैनिक जीवनमा हामीले ख्याल राख्यौँ भने मात्र पनि सदाका लागि दाँतको समस्याबाट टाढा रहन सक्छौँ ।

१. नियमित परीक्षण गर्नुस् : नियमित रुपबाट दाँतको परीक्षण स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ। दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुने बेलासम्म नकुर्नुस् । त्यसैले वर्षमा एकपटक डेन्टिस्टसँग दाँतको परीक्षण गराउनुपर्छ । यसबाट रोग निम्तनु अघि नै रोकथाम गर्न सकिन्छ ।

२. समस्या तत्कालै नभुल्नुस् : कुनै पनि समस्याबाट आराम मिल्ने बित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ ।फलोअपका लागि डाक्टरले बोलाएका छन् भने त्यसलाई फलो गर्नुस् । गिजाको शल्यक्रिया जस्तो स्थितिमा घाउ भरिन र पूरै सामान्य हुन समय लाग्छ, त्यसैले नियमित फलोअप गर्नुहोस् ।

३. आफैँ डाक्टर नबन्नुस् : विना डाक्टरी सल्लाह कुनै पनि औषधी सेवन गर्दा समस्या निम्तिन सक्छ। यसैले जब तपाईलाई दाँत, मुख या शरीरको अन्य भागमा समस्या महसुस भएको छ भने डाक्टरकहाँ जानुस्, आफैंँ घरेलु उपचारमा नलाग्नुस् ।

४. आफूलाई भएका सबै समस्या चिकित्सकलाई भन्नुस् : दाँतको उपचार गर्नुपूर्व पहिले कस्तो रोगमा कस्तो उपचार गर्नुभएको थियो भनेर सबै विवरण चिकित्सकलाई सुनाउनुस् । कुन औषधी कति लामो समयदेखि खाइरहनुभएको छ, कुन औषधीले एलर्जी भएको छ, सबै बताउनुस् । शरीरका अन्य भागको समस्या बताउँदा दाँतको उपचारमा पनि लाभकारी हुन सक्छ ।

५. हतारहतार दाँत नमोल्नुस् : प्रायःजसो मानिसहरु दाँतको सफाईमा समय दिन झन्झट मान्छन् । हतारहतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ । त्यसैले दाँतलाई स्वस्थ बनाउन अलि समय लगाएर ब्रस गर्नुपर्छ भने दिनमा कम्तीमा दुईपटक दाँत माझ्नुपर्छ । नरम ब्रसले दाँतकोे बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ । मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ । ब्रसलाई तीन–चार महिनामा बदल्नुपर्छ ।

६. एन्टिसेप्टिक माउथवास गर्नुस् : नियमित ब्रस गर्नुका साथै माउथवास र फ्लासिङ पनि जरुरी हुन्छ । दाँतको बीचमा खाना अड्कन्छ, जसका कारण दाँतको सडन र गिजाको संक्रमण निम्तन्छ । यसैले स्वस्थ गिजा र दाँतका लागि डेन्टल फ्लास या इन्टरडेन्टल ब्रसको प्रयोग दाँतको बीच भाग सफा राख्न गरिन्छ । मुखलाई किटाणुरहित बनाउन सुत्नुअघि एन्टिसेप्टिक माउथवासबाट एकपटक कुल्ला गर्नु आवश्यक छ।

७. जंकफुड नखानुस्ः बजारमा उपलब्ध कयौं खाद्य पदार्थ दाँतलाई हानी गर्ने खालका हुन्छन् । सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थले दाँतलाई हानी गर्छन् । यिनीहरुले दाँतको इनामेललाई नोक्सानी पुर्‍याउँछन् र दाँतमा झन्झनाहट पैदा हुन्छ । यस्तै, अधिक मात्रामा गुलियो र टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ । यी चिज कम खानुपर्छ । यदि बालबालिकाले बढी जिद्दी गर्छन् भने सातामा एकपटकमात्र यस्ता पदार्थ दिने बानी बसाउनुस् । यस्तो चिज खान दिने बित्तिकै ब्रस गराउन नभुल्नुस् ।

८. हरियो सागसब्जी र फल धेरै खानुस् : हरियो सागपात र फलफूल दुवै दाँतको स्वास्थका लागि जरुरी हुन्छ । यी पदार्थबाट शरीरमा भिटामिन पाइन्छ । भिटामिन सी र भिटामिन डी दाँतका लागि फाइदाजनक हुन्छ । भिटामिन सीले गिजा स्वस्थ पार्छ । अनुसन्धान अनुसार जुन व्यक्तिले दैनिक करिब ८०० मिलिग्राम भिटामिन डी सेवन गर्छ । उसमा गिजाको समस्या कम देखापर्छ। भिटामिन डी मुख्यतः चीज, दूध तथा दहीमा पाइन्छ ।

९. सुर्तीजन्य पदार्थ सेवन नगर्नुस् : चुरोट, बिँडी, सुर्ती आदि पदार्थले गिजामा हानी गर्छ । दाँत पहेँलो, कालो भएर बिग्रन्छ ।

१०. केही नराम्रा बानी छोड्नुस् : केही नराम्रा बानीहरु जस्तै राति सुतेको समयमा दाँत कट्कटाउनु, पेन्सिल या कलम टोक्नु, आइसक्रिम चपाएर खानुजस्ता बानीले दाँतको इनामेल र दाँत सम्बन्धी हड्डीमा नराम्रो असर पर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *