आरोपित यातना दिएर अनुसन्धान नहुने: महान्यायाधिवक्ता खरेल
Published:
by .गुल्मी । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले फौजदारी कसुरमा आरोपित यातना दिएर अनुसन्धान नहुने बताएका छन्। मंगलबार जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको नवनिर्मित भवनको उदघाटन गर्दै महान्यायाधिवक्ता खरेलले आरोपितलाई बल प्रयोग गरेर वा यातना दिएर अनुसन्धान हुन नसक्ने भन्दै यातना दिएर बयान लिने समयको अन्त्य भएको बताएका छन्। पहिलेपहिले यातना दिने, हतकडी लगाउने र बलपूर्वक वयान लिने जस्ता कार्यहरु हुने गरेको स्मरण गर्दै उनले अब त्यो समयको अन्त्य भएको दाबी गरे। सरकारी वकिल कार्यालयमा पीडितमैत्री कक्ष भएकाले पीडित साक्षीकक्षमा बसी शान्त रुपमा छलफल गर्नु पर्ने बताएका छन्। महान्यायाधिवक्ता खरेलले चार वर्षभित्रमा सबै सरकारी वकिल कार्यालयहरुमा नयाँ भवन बनाउने र नयाँ भवनहरुमा पीडितमैत्री कक्ष र सुविधा सम्पन्न भवनहरु बन्ने आश्वासन दिए। गुल्मीको नवनिर्मित आवाससहितको सरकारी वकिल भवन २ करोड नौ लाख ९४ हजार २३७ रुपैया १४ पैसामा निर्माण भएको हो।
Comments