Sajhamanch Archive

विराटनगर भन्सार राजश्व अपचलन प्रकरण: एजेन्ट र कर्मचारीलाई कैदसहित जरिवानाकाे फैसला

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

विराटनगर । विराटनगर भन्सार सुख्खा बन्दरगाहाभित्र रहेको बाणिज्य बैँक शाखामार्फत दश करोड भन्सार राजश्व अपचलन गर्ने मुख्य आरोपी एजेन्ट सुरेश बोहोरा र दुई कर्मचारीलाई उच्च अदालतले कैद सजायसहित करोडौँ रुपैयाँ जरिवाना असुल गर्ने फैसला गरेको छ ।

मिलेमतोमा बैँकमा राजश्व दाखिला नगरि अपचलन गरेको घटना खुलेपछि मोरङ प्रहरीले अनुसन्धान गरी बैंकिङ कसुर आरोपमा दर्ता गराएको मुद्दामा विराटनगर भन्सारका एजेन्ट सुरेश बोहोरा, उनका भाई ललित बोहोरा र कर्मचारीहरू तोर्णराज राउत र बिष्णुप्रसाद न्यौपानेलाई उच्चअदालत विराटनगरले १७ वैशाख २०७६ मा कैद सजायसहित करोडौँ जरिवाना गर्ने फैसला गरेको हो ।

उच्चअदालत विराटनगरका रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार कामू न्यायाधीश शिवराम अधिकारी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले एजेन्ट बोहोरालाई बैंकिङ कसुर ऐन २०६४ को दफा ३ (ग) र दफा १५ को (१) बमोजिम डेढ महिना कैदसहित ४ करोेड ८० लाख ७७ हजार ५ सय रुपैयाँ र कर्मचारीहरू तोर्णराज राउत र विष्णुप्रसादलाई दफा १५ को (६ ) बमोजिम २२ दिन कैदसहित जनही २ करोड ४० लाख ३८ हजार ७५० रुपैयाँ जरिवना गर्ने फैसला गरेको हो ।

आरोपी एजेन्ट सुरेश बोहोराका प्रतिनिधि रहेका भाई ललित बोहोरालाई चाँही अदालते सफाई दिएको छ । ढाकछोप गर्न खोजिएको उक्त अपराध १ फागुन २०७४ मा सञ्चारमाध्यममा सार्वजनिक भएपछि मुख्य आरोपी विराटनगर ७ निवासी एजेन्ट सुरेश र प्रतिनिधि रहेका उनका भाई ललित बोहोरा फरार भएका थिए । ६ साउन २०७५ मा अदालतमा सुटुक्क हाजिर भएपछि न्यायाधीश थीरबहादुर कार्की र बालेन्द्र रुपाखेतीको संयुक्त इजलासले एजेन्ट सुरेशलाई ८० लाख र प्रतिनिधि ललितलाई २५ लाख धरौटीमा छाडेको थियो ।

विराटनगर भन्सार सुख्खा बन्दरगाहा काउन्टरका सहायक तोर्ण राउतलाई २ फागुन २०७४ र शाखा प्रमुख अधिकृत विष्णुप्रसाद निरौलालाई १५ फागुन २०७४ मा मोरङ प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको थियो ।

बैंकिङ कसुर आरोपमा उच्च अदालत विराटनगरले पहिले उनीहरूलाई ४ करोड धरौटी माग गरेको थियो । बुझाउन नसकेपछि जेल चलान भएका उनीहरूले सर्वोच्चमा अपिल गरेका थिए । सर्वोच्चले धरौटी कम गरेपछि उनीहरू जेथा जमानी राखेर जनही ७५ लाख धरौटीमा छाडिएका थिए । उनीहरूको बयान र थुनछेक बहस एकै दिन सकिएको थियो ।

एजेन्ट बोहोरा र उनका प्रतिनिधिले बैँकका कर्मचारीको मिलेमतोमा गुडफर पेमेन्ट र मनेजर चेकको साटो एकाउन्ट पेयी बाउन्स चेक दिएर विराटनगर भन्सारको राजश्व अपचलन गरेका थिए । सबै काम बैँकमार्फत हुने भएकोले विराटनगर भन्सारको राजश्वमा कुनै असर नपरेकोले राजश्व अपचलन घटना गुपचुप रहेको थियो । तर, लामो समयसम्म अपचलन गरेको रकम दाखिला नभएपछि आन्तरिक खैलबैला मच्चिएको थियो । गुपचुप मिलाउन खोजिँदै गरेको उक्त घटना सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

विभिन्न बैँकको बाउन्स चेक प्रयोग गरेर राजश्व अपचलन गरेका थिए, एजेन्ट सुरेशले

विराटनगर भन्सारस्थित राष्ट्रिय बाणिज्य बैँकको शाखामा भएको १० करोड बराबरको राजश्व अपचलन कार्यमा एजेन्ट बोहोरा र उनका प्रतिनिधिले ‘सुरेश क्लियरिङ्ग एण्ड फरवार्डिङ्ग सर्भिस कम्पनी’ मार्फत सिटीजन, नेपाल बंगलादेश, नबिल, एभरेष्ट, एसविआई र सिदार्थ बैँकका एकाउन्ट पेयी चेक प्रयोग गरेको खुलेको थियो । बाणिज्य बैँक शाखाको भन्सार राजश्व खातामा जम्मा देखिएको ९ करोड ६१ लाख ५५ हजार रकम बैंकमा भने नगद जम्मा भएको थिएन ।

प्रहरीको अनुसन्धान अनुसार एजेन्ट सुरेशले ९ पुसदेखि १० माघ २०७४ सम्म ४६ वटा कम्पनीको १८ लाख ४० करोड ४४ हजार ७ सय ६५ रुपैयाँको भन्सार राजश्वका लागि बैँक कारोवार गरेका थिए । जसमा विभिन्न ६ वटा बैँकको ८ वटा एकाउन्ट पेयी चेक वाउन्स भएको थियो । जसबाट ९ करोड ६१ लख ५५ हजार रुपैयाँ राजश्व अपचलन भएको थियो ।

मोरङ प्रहरीले प्रस्तुत बैकिङ कसुर मुद्दामा प्रभावकारी अनुसन्धान गर्न मोरङ, सुनसरी, झापा, पर्सा र काठमाडौँका ४६ वटा कम्पनी तथा व्यवसायीहरूलाई कारोवार विवरण बुझाउन पत्राचार गरेको थियो ।

एजेन्ट सुरेश र उनका प्रतिनिधि ललितले ४९ वटा ठूला उद्योग र कम्पनीहरूको भन्सार जाँचपास गराउने गर्दथे । बैकिङ कसुरको फौजदारी अभियोग लागेपछि उनीहरूलाई भन्सारले निलम्बन गरेको छ । एजेन्ट बोहोरा कसुरदार ठहरिएकोले अब उनले भन्सार जाँचपास गर्न पाउने छैनन् ।

कोशी अनलाइनबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *