गुणस्तरीय शिक्षा आजको आवश्यकता :राष्ट्रपति भण्डारी
Published:
by .
बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएकी छन्। बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधासम्पन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले राज्यलाई पछि योगदान दिने विद्यार्थीलाई आज गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व भएकामा जोड दिइन्।
राष्ट्रपतिले भनिन्, अभिभावक र विद्यार्थीबीचको सम्बन्धबाट नै असल शिक्षा आर्जन गर्ने वातावरण मिल्छ, गुणस्तरमैत्री विद्यालय बनाउन सबैले योगदान गर्नुपर्छ। विद्यालयलाई सक्षम बनाउनका लागि स्थानीयस्तरवाटै सकरात्मक भूमिका खेल्नुपर्ने पनि उनले बताइन्।
समाजसेवी हिरण्यप्रसाद ढकालका स्मृतिमा उनको परिवारले निर्माण गरेको विद्यालयको भवन हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले विद्यालय परिसरमा निर्मित समाजसेवी ढकालको शालिकसमेत अनावरण गरिन्।
समाजसेवी ढकालको स्मृतिमा उनकी धर्मपत्नी जानुका तथा उनका छोरा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल र हेमराज ढकालद्वारा निर्मित विद्यालय भवनको साँचोसमेत विद्यालयलाई हस्तान्तरण गरिएको छ। सुविधासम्पन्न अपाङ्गतामैत्री सोह्रकोठे भवन रु ६ करोड २४ लाख लगानीमा निर्माण गरिएको विद्यालयले जनाएको छ ।
Comments