Sajhamanch Archive

गुहार माग्दा पुगेन पुलिस, पुगिन् निर्वस्‍त्र प्रहरी चौकी

Published: in विश्व समाचार, समाज by .

नयाँ दिल्ली । भारतको राजस्थानस्थित चुरु जिल्लामा सासू र परिवारका सदस्यबाट कुटिएकी बुहारीले प्रहरी गुहारिन् । नाङ्गै बनाएर सासूसहितले कुटपिट गरेपछि उनले प्रहरी गुहारेकी थिइन् । तर प्रहरी नआएपछि ज्यान बचाउन ती महिलाले नाङ्गै भाग्नुपरेको छ ।

२८ वर्षीया ती महिलाले सासूसहितको यातना भोग्न नसकेपछि प्रहरीको सहारा लिनुपरेको हो । तर प्रहरी घटनास्थलमा नपुगेपछि उनी निर्वस्त्र ३ किलोमिटर परको चौकीमा पुगेकी हुन् ।

ती महिलाले ४५ मिनेटसम्म भीडभाडयुक्त राजमार्गमा निर्वस्त्र हिँड्न बाध्य भएकी हुन्। प्रत्यक्षदर्शीका अनुसार प्रहरीले सूचना पाएर पनि बेवास्ता गरेको थियो। महिलाले रिपोर्ट गरेपछि घटना दर्ता गराएर प्रहरीले सासू, जेठाजु, जेठानी र देवरलाई गिरफ्तार गरेको छ।

समाचार अनुसार बिदासरको वाड नम्बर ५ मा बस्दै आएकी महिलासँग आइतबार बिहान झगडा भएको थियो। यो कुरा कुटपिटसम्म पुग्यो ।

महिलाले आफ्ना लुगा च्यातिदिएर नाङ्गै बनाइदिएको बताएकी छन् । त्यसपछि उनले पुलिसमा गुनासो गरेकी थिइन् । तर प्रहरी घटनास्थलमा नआएकाले आफैँ पुलिस चौकी जाने निर्णय गरिन्।

बाटोमा उनलाई मानिसले लुगा लगाइदिने कोशिश गरेका थिए। तर उनले अटोमा बस्न र कपडा लगाउन मानिनन् । उनी रुँदै रुँदै प्रहरी चौकीबाट १५० मिटरको दूरीमा रहेको मन्दिरमा पुगिन् ।

त्यसपछि चौकीका प्रमुख र हवल्दारले उनलाई बेडको तन्‍ना ओढाइदिए । अनि उनलाई चौकी लगियो।

महिला महाराष्ट्रको अकोलामा जन्मेकी थिइन् । उनको बिहे एक वर्षअघि बिदासरमा भएको थियो । उनका पति छ महिनादेखि असममा छन् । उनी त्यही मजदुरी गर्दै आएका छन्।

घरमा सासू, जेठानी, जेठाजु र देवरले उनलाई यातना दिइरहेका थिए। पतिले पठाएको पैसा परिवारका सदस्यले खोसेर आफूलाई कुटपिट गर्ने गरेको ती महिलाले प्रहरी समक्ष गुनासो गरिन् ।

एसपी राजेन्द्र कुमारले यो घटनामा कारबाही नगरेको बारेमा जवाफ दिँदै पारिवारिक मामिला भनेका छन् । उनले सूचना पाएपछि प्रहरीले कपडा दिएको बताए ।

यता महिलाको भिडियो बनाएको आरोपमा उमाशंकर नाईलाई प्रहरीले पक्राउ गरेको छ । यो घटनामा संलग्न भएका सबैलाई गिरफ्तार गरिएको उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *