सत्कर्ममा हाम्रो नेपालः ऋणि सदस्यको कर्जा मिनाहा गरिँदै
Published:
by .कनकाई । बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना दिवंगत सदस्य तथा ऋणी एवम् ऋणिका एकाघर परिवारका सदस्यको मृत्युमा दिइने कर्जा छुट सुविधा प्रदान गर्न थालेको छ ।
आज शनिबार संस्थाका सदस्य तथा ऋणि कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुर निवासी पूजा दाहाल सापकोटाले संस्थालाई तिर्न बुझाउन बाँकी रहेको एक लाख १४ हजार ८४५ रुपैयाँ मिनाहा गरिदिएको हो । उनका ३० वर्षीय पति नविन सापकोटाको चैत १२ गते मृत्यु भएको थियो । मृतक पत्नी पूजाले संस्थाबाट दुई लाख रुपैयाँ कर्जा लिएकोमा तिर्न बाँकी सबै ऋण मिनाहा गरिएको पत्र उनलाई प्रदान गरिएको छ ।
पूजाले हाम्रो नेपाल साकोसको सुरुङ्गा सेवा केन्दबाट लघु उद्यम शीर्षकमा २०७५ साल फागुन ५ गते दुईलाख रुपैयाँ ऋण लिएर सावाँ ब्याज नियमित तिरिरहेकी थिइन् । तर पतिको अकल्पनीय मृत्यु भएकाले संस्थाले बाँकी कर्जा रकम मिनाहा गरिदिएको हो । संस्थाले सामाजिक उत्तरदायित्व समेत झल्किने गरी बनाएको कर्जा नीति अनुसार ऋणि स्वयम्को मृत्यु भएमा तिर्न बाँकी शतप्रतिशत कर्जा मिनाहा दिनेछ भने वा पति वा पत्नी, बुवाआमा वा आश्रित परिवारको मृत्युमा लगानीको ६० प्रतिशत कर्जा छुट हुने व्यवस्था छ ।
आज सापकोटा निवास दुर्गापुरमा गएर हाम्रो नेपाल साकोसका सञ्चालकहरुले सापकोटाले लिएको ऋणको बाँकी रकम ६० प्रतिशतभन्दा कम रहेकाले मिनाहाको पत्र हस्तान्तरण गरेका हुन् । ऋण मिनाहाको पत्र प्रदान गर्दै संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले संस्थाको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत सञ्चालक समितिको निर्णयानुसार कर्जा मिनाहा गरिएको बताए ।
मृतककी पत्नी पूजा सापकोटा, बुबा गोविन्द सापकोटा र आमा मैया सापकोटालाई अध्यक्ष दंगालले कर्जा मिनाहाको पत्र प्रदान गरेका हुन् । मृतक सापकोटाका एकजना छोरा छन् । उनलाई अध्ययनका लागि सहयोग पुगोस् भनेर संस्थाले स्टेशनरी सामान पनि प्रदान गरेको छ ।
कमाउने छोराको अकल्पनीय मृत्यु पछि सहकारी संस्थाले राहतस्वरुप लाख रुपैयाँभन्दा बढी ऋण मिनाहा गरिदिएर हाम्रो परिवारलाई ठूलो उपकार गरेको मृतकका बाबु गोविन्दले बताए ।
यसैगरी संस्थाको सुरुङ्गा सेवा केन्द्र अन्तरगतका अर्का सदस्य तथा ऋणि महम्मद रसुल शेखको गत फागुन १९ गते मृत्यु भएकाले उनले लिएको ऋण चार लाख रुपैयाँमध्ये तिर्न बाँकी रहेको एक लाख ७५ हजार रुपैयाँ मिनाहा गरिएको छ ।
जेठ १ गते कनकाई नगरपालिका ३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरियाको रोहबरमा मृतक ऋणि रसुल शेखकी पत्नी असिवा खातुनलाई बाँकी रहेको कर्जा मिनाहाको पत्र प्रदान गरिएको हो ।
संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछाने, सञ्चालक सदस्य राजेन्द्र गौतम, सुरुङ्गा सेवा केन्द्र प्रमुख ज्योति पराजुलीलगायत स्थानीय बासिन्दाको उपस्थितिमा पतिले लिएको ऋणमध्ये चुक्ता गर्न बाँकी कर्जा मिनाहाको पत्र खातुनलाई प्रदान गरिएको हो ।
Comments