Sajhamanch Archive

एलईडी लाइट आँखाका लागि घातक

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

कम ऊर्जा खपत् गर्ने भएकाले पनि पछिल्लो समय एलईडी लाइटको विश्वव्यापी प्रयोग बढ्दै गएको पाइन्छ । टिभी, बत्तीलगायत अहिलेका अधिकांश विद्युतीय उपकरणमा एलईडीकै प्रयोग भइरहेको छ ।

फ्रान्सको स्वास्थ्य निकायले गरेको एउटा परीक्षणपछि एलईडीमा हुने निलो प्रकाशले हाम्रो आँखाको रेटिनामा क्षति पुर्याउनुका साथै हाम्रो शारीरिक र सुत्ने चक्रमा अवरोध पुर्याउने गरेको पत्ता लागेको छ ।

रिपोर्टमा उल्लेख गरिएअनुसार परीक्षणमा फेला परेको नयाँ वैज्ञानिक प्रमाणले उच्च स्तरमा ‘ब्लु लाइट’ को सामना गरिरहनाको ‘फोटोटक्सिक’ असर हुने गरेको पुष्टि गरेको हो अर्थात आँखाको दृष्टिमा हानिकारक प्रभाव पार्ने बताइएको छ । यति मात्र नभएर यसले ५० वर्षको उमेर कटेपछि आँखाको दृष्टि अचानक कमजोर हुने वा ज्योति गुम्ने समस्याको जोखिम पनि बढाउने फ्रान्सेली एजेन्सीले बताएको हो ।

यसरी सन् २०२० सम्ममा एलईडी लाइटनिङले विश्वको ४८ प्रतिशत ऊर्जाको प्रतिनिधित्व गर्ने अनुमान गरिएको छ । तर यसले मस्तिष्कको शारीरिक घडीसँग सम्पर्क गर्ने रेटिनामा प्रभाव पार्ने हुँदा स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ ।

वैज्ञानिकहरुका अनुसार केही दिन वा केही हप्तासम्म एलईडी ब्लु लाइटको सामना गर्नुले त्यति हानि नपुर्याएपनि महिनौँ वा वर्षौँसम्म हामी यसको सम्पर्कमा आइरहे आँखा सम्बन्धी रोगको खतरा बढ्न पुग्ने बताइएको हो । यस्तोमा एजेन्सीले कम जोखिमयुक्त एलइडी डिभाइस मात्र उपलब्ध गराइनुपर्ने बताएको छ । ( सीएनएनबाट)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *