Sajhamanch Archive

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

विराटनगर । प्रदेश १ को सरकारले समग्र कृषि क्षेत्रको प्रबर्धन र बजारीकरणका लागि कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी व्यवसाय प्रबर्धन कार्यक्रम, मिल्क एनालाइजर वितरण कार्यक्रम र पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा आवद्ध कृषक, कृषक समूह, सहकारी, व्यवसायी फर्मलाई ७० प्रतिशतसम्म अनुदान रकम दिएको हो ।

मन्त्रालयले पशुजन्य पदार्थ उत्पादन, विविधिकरण र बजारीकरण, बधशाला स्थापना, मासु चिस्यान घर, दूध ढुवानी साधन खरिदलगायतका १४ वटा कार्यक्रमका लागि कृषकहरुलाई अनुदान दिएको हो ।

मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत पशुजन्य पदार्थ उत्पादन, विविधिकरण र बजारीकरणको प्रबर्धनका लागि १० लाखदेखि डेढ करोड रुपैयाँसम्म अनुदान दिएको जानकारी दिए ।

‘प्रदेश सरकारले समग्र कृषि क्षेत्रको विकास सगै प्रबर्धन र बजारीकरणलाई प्राथमिक्तामा राखेको छ,’ खत्रीले भने, ‘सरकारको नीति तथा कार्यक्रम अनुसार नै कृषि क्षेत्रको विकास र प्रबर्धनका लागि यो अनुदान रकम प्रदान गरेको हो ।’

मन्त्रालयले अनुदान प्रदान गर्ने १४ वटा कार्यक्रमका लागि प्रस्ताव आव्हान गरेको थियो । प्रस्ताव आब्हान गरिएका मध्ये १०४ वटा प्रस्ताव मन्त्रालयले स्वीकृत गरी कार्यक्रम सम्झौता गरिरहेको छ ।

विभन्न १४ वटा कार्यक्रम अन्तर्गत प्रस्ताव आब्हानका क्रममा ३१३ वटा प्रस्ताव मन्त्रालयमा परेका थिए । जसमध्ये कार्यक्रमका लागि सम्पूर्ण मापदण्ड पूरा गरेका १०४ वटा प्रस्ताव मन्त्रालयले स्वीकृत गरेको सूचना अधिकारी खत्रीले जानकारी दिए ।

मन्त्रालयका पशुपन्छी विकास महाशाखाका प्रमुख डा. माधवप्रसाद अर्यालको संयोजकत्वमा रहेको ७ सदस्यीय समितको सिफारिसमा ती प्रस्तावलाई कार्यक्रमका लागि स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।

कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने सरकारको नीति अनुरुप बजेटमा कृषि क्षेत्रका लागि अधिकांश अनुदानमा आधारित कार्यक्रम अगाडि सारिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *