विर्तामोडमा नगरस्तरीय खेलकुद शुरु, फुटबलमा वडा नं ५ विजयी
Published: (Updated: )
by .विर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर झापाको विर्तामोड नगरपालिकाले प्रथम नगरस्तरीय अन्तर वडा खेलकुद सञ्चालन गरेको छ ।
नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको एक समारोहका बीच प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गरे । स्थानीय डामोलाल राजवंशी रंगशालामा प्रतियोगिता उद्घाटन भएको हो ।
प्रमुख अतिथि कार्कीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर फुटबल खेलको शुभारम्भ गरिएको थियो । उद्घाटन वडा नं ३ र वडा नं ५ बीच भएको पहिलो खेलमा वडा नं ५ ४–१ गोलअन्तरले विजयी भएको छ । म्यान अफ द म्याच निशान खड्का उक्लैले चार गोल गरेका थिए भने पराजित वडा नं ३ का विशाल हेमरमले सान्त्वना गोल गरे । मध्यान्तरअघि १–० को स्थितिमा रहेको खेललाई मध्यान्तरपछि वडा नं ५ ले आफ्नो नियन्त्रणमा राखेको थियो ।
मंगलबार वडा नं ८ र ६ बीच प्रतिस्पर्धा हुने आयोजक समितिका उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए । प्रतियोगितामा १० वटै वडाको सहभागिता रहेको छ ।
फुटबल प्रतियोगिताको विजेता टिमले नगद ५० हजारसहित शील्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेताले ४० हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गर्ने समितिका अध्यक्ष संग्रौलाले जानकारी दिए ।
खेलकुदअन्तर्गत जेठ १४ र १५ गते डोमालाल रंगशालामै करातेका खेल हुनेछन् भने गणतन्त्र दिवसको दिन १५ गते ५ किलोमिटर म्याराथन दौड हुनेछ । सोही दिन रंगशालामा विजेताहरुलाई पुरस्कृत गर्दै यो खेलकुदको समापन हुने समितिका सदस्य सचिव तिम्सिानाले जानकारी दिए ।
Comments