Sajhamanch Archive

ठगी गरेको आरोपमा बैंककमा पक्राउ परेका गुरुङलाई काठमाडौं ल्याइयो

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । विकसित मुलुकमा रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गरेको आरोपमा थाइल्यान्डको बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई काठमाडौं ल्याइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई थाइल्यान्डबाट काठमाडौं ल्याएको हो । गुरुङ गत चैतमा बैंककमा पक्राउ परेका थिए । प्रहरीले २०७१ सालदेखि नै उनलाई खोजी गरिरहेको थियो ।

नेपाल प्रहरीको पहलमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले २०७२ साल असार २९ मा गुरुङविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।

लामो समयपछि बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्याण्ड प्रहरीले गुरुङलाई गत चैतमा पक्राउ गरेको थियो ।

उनले सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिसँग कुराकानी गरी विकसित मुलुकमा राम्रो काम र कमाईको प्रलोभन देखाएर ठगी गर्दै आएका थिए ।

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तथा मानव ओसारपसारमा संलग्न गुरुङ अहिलेसम्मकै ‘खतरनाक गिरोहका नाइके’ भएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङविरुद्ध ५२ वटा मानव ओसारपसारसम्बन्धी उजुरी परेको जनाएको छ ।

ती उजुरीमा ५ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै पीडितले विगो बराबरको रकम माग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *