कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा
Published:
by .नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजना अन्तर्गतको सबस्टेशन निर्माण कार्य करिब ४५ प्रतिशत पूरा भएको छ ।
कालीगण्डकी प्रसारण लाइनअन्तर्गत बडेरा सूर्यबस्ती न्यू बुटवल २२० र १३२ केभी सबस्टेशन आयोजनाको निमार्ण कार्य पूरा हुन अझै करिब चार महिना लाग्ने आयोजनाले जनाएको छ ।
२२० र १३२ र ३३ र ११ केभी सवस्टेशनमा पहिलो र दोस्रो चरण गरी तीन ट्रान्सफर्मर राखिने योजना रहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्द्रकुमार घोषले जानकारी दिए ।
कालीगण्डकी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सवस्टेशन र कुश्मा तथा पश्चिम नवलपरासीको स्टेशन जोड्ने गरी सवस्टेशन निर्माण जारी छ । नेपाल सरकारले अघि बढाइरहेको सो कार्यका ठेकेदार कम्पनी भारतका श्री टाटा प्रोजेक्ट्स लिमिटेड रहेको छ ।
कुश्मा–न्यू बुटवल खण्डअन्तर्गत पर्वतको कुश्मादेखि बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम नवलपरासीको बडेरासम्म ८८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ । न्यू बुटवलदेखि पश्चिमनवलपरासीको बर्दघाटसम्म २० किलोमिटर लामो अर्को खण्ड निर्माण गरिनेछ ।
रामनगर बडेरामा २२० र १३२ र ३३ केभीको न्यू बुटवल सवस्टेशन निर्माण भइरहेको छ । करीब २५ बिघा क्षेत्रफलमा निर्माणाधीन आयोजना विसं २०७१ मा जग्गा व्यवस्थापन गरिएको थियो ।
Comments