Sajhamanch Archive

चीनले बनायो प्रतिघण्टा ६ सय किलोमिटर कुद्‍ने रेल

Published: in राष्ट्रिय समाचार, by .

बेइजिङ । प्रविधिको प्रयोगमा विश्वलाई चकित बनाइरहेको चीनले प्रतिघण्टा ६ सय किलोमिटरको गतिमा कुद्नसक्ने रेल बनाएको छ।

चीनले यो रेल गत बिहीबार सार्वजनिक गरेको छ । प्राविधिकहरुका अनुसार यो रेल म्याग्नेटिक-लेभिटेशन प्रणालीमा आधारित छ । यो रेल जमिनको सतहभन्दा केही माथि कुद्‍ने गरी बनाइएको छ। साउथ चाइना मर्निङ पोस्ट्का अनुसार चाइना रेलवे रोलिङ स्टक कर्पोरेशन (सीआरआरसी) ले यो रेल बनाएर सार्वजनिक गरेको हो ।

सीआरआरसीले सन् २०२१ देखि यो रेलको व्यावसायिक उत्पादन थाल्ने भएको छ। चीनले बनाएको यो रेलले भविष्यमा सडक यातायातको क्षेत्रमा क्रान्ति नै ल्याउने विश्वास गरिएको छ। यो रेलले हवाई र स्थल यात्राबीचको अन्तर पनि साँघुरो बनाउने छ। प्रतिघण्टा ६ सय किमि कुद्ने यो रेलले राजधानी बेइजिङबाट संघाईसम्मको यात्रा केबल साढे घण्टामै छिचोल्नेछ। अहिले सञ्चालित रेलबाट बेइजिङदेखि संघाई साढे ५ घण्टामा छिचोलिन्छ। जहाजको अधिक गति प्रतिघण्टा ८ देखि ९ सय किलोमिटरसम्म हुन्छ ।

अहिले जापान र चीनमा सञ्चालित रेल प्रतिघण्टा ३ सय ५० किलोमिटरसम्म कुद्छन्। चीनले यो रेल बनाउन तीन वर्ष लगाएको छ। यो रेल चुम्बकीय विकर्षणको नियमअनुसार बनाइएको छ। त्यहीकारण यो रेल जमिनको सतहभन्दा केही माथि कुद्छ। जमिनमा घर्षण नहुने भएकाले यो रेलले आफूलाई तीब्र गतिमा गन्तब्यमा लैजान्छ। निर्माण भइसकेको यो रेलको चीनले परीक्षण गरिरहेको छ। यो रेलले एक वर्षभित्रै सेवा सुरु गर्ने दाबी गरिएको छ। यो रेल परीक्षणमै प्रतिघण्टा ६ सय किलोमिटरको गतिमा कुदेको थियो।

चीनसँगै रेल निर्माणमा विश्वलाई चकित बनाइरहेको जापानले पनि सन् २०१५ मा यस्तै रेल बनाएको थियो। उसले बनाएको म्यागलेभ रेल परीक्षणका क्रममा ६ सय ३ किलोमिटर प्रतिघण्टाले कुदेको थियो । रेलको अहिलेसम्मको यो उच्च गतिको रेकर्ड पनि हो। चीनले बनाएको पहिलो म्याग्लेभ प्रणालीको रेलवे सांघाईको पुटोङ एयरपोर्ट र सिटी सेन्टरबीचमा छ । यो रेल ४ सय ३१ किलोमिटर प्रतिघण्टाको दरले कुदिरहेको छ। यो अहिलेसम्मको सबैभन्दा तीव्र गतिको रेल हो । जापानले अहिले बनाइरहेको म्याग्लेभ प्रणालीको रेलको गति प्रतिघण्टा ५ सय किलोमिटर रहेको छ। यो प्रणालीका रेल चीन, दक्षिण कोरिया र जापानमा सञ्चालित छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *