विप्लव समूहले सेना र जनसरकार बनाइसक्योः गृहमन्त्री बादल
Published: (Updated: )
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि समयअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको शक्तिमा ह्रास आएको बताए पनि गृहमन्त्री रामबहादुर थापा बादलले भने विप्लव समूहले सेना र जनसरकार बनाइसकेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको वैठकमा आइतबार विप्लव समूहले गराएको बम विष्फोटबारे जानकारी दिने क्रममा गृहमन्त्री थापाले विप्लवले सेना निर्माण गर्नुका साथै जनसरकार समेत बनाइसकेको खुलासा गरेका छन् । उनले विप्लवको निशानामा काठमाडौं उपत्यका रहेको समेत जानकारी गराएका छन् ।
आइतबार काठमाडौंमा भएको श्रृखलावद्ध बम विष्फोटनका घटनाबारे संसदलाई जानकारी दिंदै गृहमन्त्री बादलले भने, ‘उनीहरुले जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन् । जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन् । यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेका छन् ।’
गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पाँच सय हाराहारीमा मात्र सेना भएको बताएका छन् ।
उनले विप्लव समूहसँग चार कम्पनी सेना रहेको खुलासा गरेका हुन् । एक कम्पनी बराबर एक सयदेखि १५० (सामान्यत १२५) सेना हुने समेत उनले बताएका छन् ।
गृहमन्त्री थापाले नेकपा गठन गरेर विप्लव समूहले संविधान र राज्य व्यवस्थाविरूद्ध गैरकानुनी र शान्ति विरोधी गतिविधि गर्दैं आएको समेत बताएका छन् । तर पनि सरकारले उनीहरुसँग वार्ता अगाडि बढाएको उनले जानकारी गराए ।
‘विप्लव समूहका गैरकानुनी गतिविधि नियन्त्रण गर्ने र वार्ता तथा संवादद्वारा मूल प्रवाहमा ल्याउने दुवै प्रक्रिया अघि बढेका छन् । यो समूहलाई मूलधारमा ल्याउन र उनीहरूका अराजक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिबद्ध छ,’ उनले भने ।
Comments