Sajhamanch Archive

खुल्दै तातोपानी नाका, सामान लिन खासा पुगे चारवटा कन्टेनर

Published: in राष्ट्रिय समाचार, समाज by .

सिन्धुपाल्चोक । विनाशकारी भूकम्पपछि बन्द तातोपानी नाका चार वर्षपछि खुल्ने भएको छ । नाका औपचारिक रुपमा भोली बुधबार १५ गते बाट सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नाकाको उद्घाटन गर्ने भएका छन् ।’ नाकामा सामान लिन ४ वटा कन्टेनर खासा गइसकेको’ भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए ।

“नाका सञ्चालनका लागि तीव्र गतिमा काम भएको छ । सुरुमा ऊन ल्याएर नाखा खुल्ला भएको घोषण गरिनेछ” पौडेलले भने। दश जना सामान लोड गर्ने मजदुरसहित चारवटा कन्टेनर सामान लिन खासा पुगेको अध्यक्ष पौडेलले बताए ।

‘नेपाल–चीन मितेरी पुल निर्माण भइसक्न बाँकी नै छ । अहिले पुलमुनिको कच्ची सडक हुँदै कन्टेनर खासा गएका छन् । बुधवार ती कन्टेनर ऊन लिएर नेपालमा नाका खुल्नेछ,’ उनले भने ।

जुरे पहिरोबाटै ठप्प भएको नाका चार वर्षपछि खुलेको छ । नाकासँग आश्रित भएकाहरुको जनजीवन पुनः सुचारु हुनेछ । दैनिक दुई करोडभन्दा धेरै राजस्व संकलन हुने नाका बन्द भएपछि अरर्बौंको राजश्व गुमेर देशलाई घाटा परिरहेको छ ।

नाकाबाट जीवन निर्वाह गर्दै आएका साना ठूला व्यवसायी, मजदुर, व्यापारीसमेत चार हजार भन्दा बढी प्रत्यक्ष मारमा परेका थिए । नाका आसपास करोडौंको लगानीमा खोलिएको होटल अहिले विस्तारै लयमा फर्कर्दै छ ।

नाका बन्द हुँदा यो मार्ग हुँदै चीनको मानसरोबर भ्रमणमा जाने विदेशी पर्यटक शून्यमा झरेका थियो । तातोपानी धारामा स्थान गर्ने, बन्जी जम्प गर्ने, र्‍याफ्टिङ गर्ने आन्तरिक र बाह्य पर्यटकहरु आउने घटेका थिए ।

तर, नाका सञ्चालनमा आएपछि सिमाक्षेत्रमा खुसी छाएको छ । नाकामा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा चहलपहल सुरु भइसकेको छ । तातोपानी, कोदारी लिपिङ तीनैवटा बजारका पुराना व्यवासायी फर्कन थालेका छन् ।

चिनियाँ कम्पनी चाइना रेलवे कन्ट्रक्सन ग्रुप कम्पनी सिआरसीसीले अन्तराष्ट्रिय स्तरको अत्याधुनिक सुक्खा बन्दरगाह र कोदारी राजमार्ग अन्तर्गगतको सडक निर्माण गरिसकेको छ ।

तातोपानी नाका सञ्चालनमा आएपछि सिन्धुवासिको मात्रै नभएर सिंगो मुलुकको आर्थिक अवस्थामा सुधार आउनेछ । यो नाकाबाट यसअघि सुन र रक्तचन्दन तस्करीसहितका अवैध क्रियाकलाप हुने गरेका थिए ।

अब अपराधिक क्रियाकलाप हुन नदिन शनिबार नाका क्षेत्रमै पुगेर गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

तातोपानी नाका सञ्चालनको लागि पछिल्लो चारणमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटाले पहल गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *