Sajhamanch Archive

विर्तामोडमा नगरस्तरीय खेलकुदः कराँते खेलहरु हुँदै

Published: (Updated: ) in खेलकुद by .

विर्तामोड । झापाको विर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत सोमबार करातेका खेलहरु भएका छन् ।

स्थानीय डोमालाल रङ्गशालामा सोमबार बिहानदेखि करातेको दुई विधाका खेलहरु भएको आयोजक समितिले जानकारी दिएको छ । तीमध्ये केही समूहको नतिजा घोषणा भएका छन् भने केही समूहको फाइनल खेल मंगलबार विहान हुने आयोजक समितिका उपाध्यक्ष एवम् झापा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए ।

प्राप्त विवरण अनुसार करातेको काता विधाको पुरुषतर्फ वडा नं ३ का निश्चल न्यौपाने प्रथम, वडा नं ५ का दिवश श्रेष्ठ दोस्रो, वडा नं २ का लक्ष्मी यादव र वडा नं ४ का दिप्सन पोखरेल तेस्रो भएका छन् । महिलातर्फ वडा नं ५ की प्रितिष्मा गौतम प्रथम, वडा नं ३ की मिक्सा जवेगु दोस्रो, वडा नं १० की विनिता लिम्बू र ४ की शीतल शर्मा तेस्रो भएका छन् ।

कुमुतेमा पुरुषतर्फ ६० केजी तौल समूहमा वार्ड नं ५ का अभिषेक राजवंशी प्रथम, वार्ड नं ४ का निगेन लिङदेन दोस्रो भएका छन् । महिलातर्फ ५५ केजी तौल समूहमा वडा नं ५ की अस्मिता कार्की प्रथम र वडा नं ४ की फूर्वा शेर्पा दोस्रो भइन् ।

यसैगरी, ४० केजी समूहमा पुरुषतर्फ वार्ड नं ४ का मनिष कार्की प्रथम र बालाहाङ लिम्बू दोस्रो भएका छन् भने ३५ केजी समूहमा पुरुषतर्फ वडा नं ५ का नुसाङ लिम्बू प्रथम र वडा नं ४ का शिशिर लिम्बू दोस्रो भएका छन् । बुधबार फाइनलका ६ खेल हुने आयोजकले जनाएको छ । करातेमा १० वटै वडाका लगभग १५० खेलाडी सहभागी छन् ।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्य र आयोजक समितिका अध्यक्ष टिका संग्रौलाको अध्यक्षतामा कराते प्रतियोगिता आयोजना गरिएको थियो ।

बुधबार गणतन्त्र दिवसको दिन करातेका बाँकी खेल, फुटबलको फाइनल खेल र मिनी म्याराथन दौडसँगै पुरस्कार वितरण गर्दै खेलकुद समापन गरिने अध्यक्ष संग्रौलाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *