अन्तर माध्यमिक लिग फुटबल प्रतियोगितामा पशुपति मावि र विद्या विकास एकाडेमी विजयी
Published:
by .बाहुनडाँगी । बाहुनडाँगी युवा क्लव मेचीनगर ४ को आयोजनामा सञ्चालित अन्तर माध्यमिक लिग फुटबल प्रतियोगितामा पशुपति मावि र विद्या विकास एकाडेमी विजयी भएका छन् ।
बुधबार भएको पहिलो खेलमा पशुपति माविले अंशु एकेडेमीलाई ३–० को गोल अन्तरले हरायो । खेलको म्यान अफ द म्याच दिपक कडरिया घोषित भए ।
पशुपति माविका तर्फबाट दिपक कडिरयाले २ गोल र संजय लिम्वुले एक गोल गरे । त्यसैगरी, दोस्रो खेल विद्या विकास एकाडेमीद्वारा सरस्वती मावि ५–० ले पराजित भए । विद्या विकासका तर्फबाट विप्लव श्रेष्ठले २, नयन मगर २ प्रतीक धिमाल १ गोल गरेका थिए ।
बिहीबारको पहिलो खेल पशुपति मावि र सरस्वती माविबीच तथा दोस्रो खेल विद्या विकास र अंशु एकेडेमीका विच हुने बाहुनडाँगी युवा क्लबका अध्यक्ष पोषककुमार दर्जीले जानकारी दिए । मंगलबारदेखि संचालन भएको प्रतियोगिता १७ गते सम्पन्न हुनेछ ।
मंगलबार भएको पहिलो खेल पशुपति मावि र विद्या विकास एकेडेमीले १–१ को बराबरी खेले । विद्या विकासका तर्फबाट आयुस दाहालले १ तथा पशुपतिका तर्फबाट निखिल तामाङले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कडरिया भए । उनलाई प्रमुख अतिथि मेनपा ४ का वडा सदस्य विनोद रंजीतकारले ट्रफी प्रदान गरे । दोस्रो खेल सरस्वती माविले अंशु एकेडेमीलाई हरायो ।
खेलको म्यान अफ द म्याच घोषित सरस्वती माविका अरुण खत्रीले १ गोल गरी खेलमा जीत निकाले । क्लवका संस्थापक सचिव प्रेमकुमार क्षेत्रीले म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।
उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष पोषक कुमार दर्जीको सभापतित्वमा तथा मेचीनगर–४ का वडा सदस्य विनोद रंजितकारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत क्लवका सचिव विक्रम थापाले गरे ।
कार्यक्रमको सञ्चालन क्लवका लेखा समिति संयोजक श्याम राज कार्कीले गरे ।
Comments