Sajhamanch Archive

मोदीको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण माल्दिभ्स

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बिहीबार) साँझबाट दोस्रो कार्यकाल सुरु गर्दैछन् । स्थानीय समयानुसार साँझ ७ बजे उनले शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

दोस्रो कार्यकालको पहिलो महिना उनी विदेश भ्रमणका क्रममा विभिन्न तीन मुलुक पुग्ने भएका छन् । मोदीले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्सलाई रोजेका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार ७ र ८ जुनमा उनले माल्दिभ्स भ्रमण गर्ने कार्यक्रम छ ।

दोस्रो विदेश भ्रमणका रुपमा १३ र १४ जुनमा उनी किर्गिस्तान जानेछन् । बहुपक्षीय विदेश भ्रमणका क्रममा मोदीले किर्गिस्तानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतसँग भेटवार्ता गर्नेछन् ।

महिनाको अत्यतिर २८ र २९ जुनमा मोदी जापान जानेछन् । ‘जी–२० शिखर सम्मेलन’ मा सहभागी हुन उनी जापान जाने बताइएको छ । त्यहाँ उनले जापानी प्रधानमन्त्रीका अतिरिक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एंगेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुअल मेक्रों लगायतसँग भेटवार्ता गर्ने जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको पहिलो एक महिनामा विदेश भ्रमणमा ६ दिन बित्नेछ । उक्त ६ दिनमध्ये उनी दुई दिनभन्दा बढी अर्थात् ५५ घण्टा आकाशमै बिताउनेछन् । तीनवटा विदेश भ्रमणका क्रममा ती मुलुकमा जान र आउन गरी विमानमा उनले ५५ घण्टा बिताउनु पर्ने भएको हो । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *