कल्पनाशीलताको उपज बिर्तामोडमा निर्माणाधिन श्रीजय ड्रिमलेण्ड पार्क
Published: (Updated: )
by .झापा बिर्तामोडको कनकाई एजुकेशन फाउण्डेसनका संस्थापक जयनारायण ढुङ्गानाको कल्पनाशीलताको अर्को उपजले यही वर्ष मूर्तरुप पाउन लागेको छ । बिर्तामोड नगरपालिका ३ मा रहेको रुमाले आकारको करिब ८ विगाहा जमिनमा आकर्षक पार्क निर्माण गरेर उनले परिकल्पनालाई साकार बनाउन लागेका हुन् ।
‘श्रीजय ड्रिमल्याण्ड पार्क’ नामाकरण गरिएको सो आयोजनालाई बिर्तामोड क्षेत्रकै प्रदुषणरहित, कोलाहलमुक्त, हरियाली एवम् प्राकृतिक वातावरणमा रमाउन पाइने पर्यटकीय क्षेत्र बनाइँदैछ । पर्यावरणीय एवम् पर्यटकीय महत्व बोकेको उद्यान निर्माणमा जुटेका शिक्षासेवी ढुङ्गाना बिर्तामोडको गहनाका रुपमा श्रीजय ड्रिमलेण्ड पार्क निर्माण गरिरहेको बताउँछन् । जमिनको वरिपरि १० फुट अग्लो कम्पाउण्ड वाल निर्माण र विभिन्न प्रजातिका फलफूलको विरुवा एवम् शो प्लान्ट रोपणलाई उनले पहिलो चरणको कार्य बनाएका थिए । हालै जेठको पहिलो साता ‘लिची फेस्टिवल’ गरेर पार्कभित्र उत्पादित विषादि रहित लिचीको स्वाद उनले झापाबासीलाई चखाई सकेका छन् । ‘लिची फेस्टिवल’मा हजारौंले आफ्नै हातले बोटबाट लिची टिपेर खाने अवसर पाएका थिए ।
दोस्रो चरणमा अहिले दैनिक ५० देखि ७० जना कामदारहरुले पार्कका लागि विभिन्न भौतिक संरचनाहरु निर्माण गरिरहेका छन् । ‘भौतिक संरचना अन्तरगत श्रीजय ड्रिमलेण्ड पार्कमा वरिपरि १२ सय फुट ड्रेन निर्माणको कार्य पूरा भएको छ, जहाँ वाटर बोटिङ सञ्चालन गरिनेछ भने सोको माथिल्लो भागमा अप भेहिकल वे निर्माण गरिँदैछ, यही असारभित्रमा अप भेहिकल वे निर्माण कार्य पनि सम्पन्न हुनेछ’ ढुङ्गानाको भनाई छ । अत्याधुनिक इन्जिनियरिङ डिजाइनमा निर्माण भइरहेको ओभर ब्रीजबाट ध्वनी र प्रदुषणरहित भेहिकलमा यात्रा गरेर सम्पूर्ण पार्कको दृष्यावलोकन गर्न सकिने उनको परिकल्पना छ ।
श्रीजय ड्रिमलेण्ड पार्कको अर्को महत्वपूर्ण विशेषता ९० फिट उचाइको ९ तले धरहारा (भ्यूटावर) हुनेछ । धरहराको नवौं तलामा सपिङ कम्प्लेक्स बनाउने योजना रहेको ढुङ्गानाको भनाई छ । पार्कमा घुमफिर गर्न आउने इच्छुकले आफ्ना आवश्यकता र रुचि अनुसारका वस्तुहरु खरिद गर्न सक्नेछन् । यस्तै सातवटा तलामा विश्रामस्थलको निर्माण गरिने छ र टी स्टल पनि राखिनेछ । जहाँबाट चियाको चुस्कीसँगै पार्क र आसापासको मनोरम दृश्यावलोकन गर्न पाइनेछ । यस्तै ग्राउण्ड फ्लोरपमा बेबीजोन बनाइने छ । त्यहाँ बालबालिकाले उमेर र रुची अनुसारका खेलका साधनबाट मनोरन्जन लिन पाउनेछन् ।
करिब ४ कठ्ठा क्षेत्रफल ओगट्ने जमिनमा धरहराको फाउण्डेसन उठाइएको छ । फाउण्डेसनको वरिपरि घुम्न मिल्ने गरी बालबालिकाको स्वीमिङ पूल पनि निर्माण गरिँदैछ । ‘सिनियरहरुका लागि मेल र फिमेल छुट्टाछुट्टै स्वीमिङ पुल पार्कभित्रै निर्माण हुँदैछन्’ ढुङ्गानाले सुनाए ।
उमेरले ७० वर्षमा हिडिरहेका ढुङ्गाना सरको तन्नेरी जोशले बिर्तामोडलाई एउटा अनुपम रमणीय पर्यटकीय स्थल उपहार दिन लागेको छ । उनले विश्वका विभिन्न मुलुकहरु घुम्न जाँदा देखेका अनेकन पर्यटकीय एवम् वातावरणीय अभ्यासहरुलाई यहाँ प्रयोग गर्न चाहेका छन् । भन्छन्, ‘म विश्वकै समृद्धशाली देश अमेरिका गएँ, कोरिया गएँ, थाइलेण्डलगायत देशहरु गएँ । त्यहाँ घुम्दा देखेका रमणीय ठाउँहरुलाई आफ्नो जमिनले भ्याउनेसम्म बनाउने योजना २०७३ सालबाट गरेको थिएँ, निर्माण कार्यको थालनी चाहिँ २०७४ को अन्तिमबाटमात्र सुरु भयो ।’
पार्कको नाम नै ‘ड्रिमल्याण्ड’ अर्थात् ‘सपनाको भूमि’ । ड्रिम भनेको सपना वा परिकल्पना पनि बुझ्न सकिन्छ । सुतेपछि निन्द्रामा देखिने सपना, त्यही सपनालाई यथार्थ जीवनमा कार्यान्वयन गर्न गरिने परिकल्पना । ढुङ्गाना सरले धेरै नेपालीले नसोचेको यस्तै परिकल्पना निर्माणाधिन पार्कभित्र बनाउने योजना गरेका छन् ।
भन्छन्, ‘धरहराको ठिक पूर्वतर्फ ‘केभ वे’ अर्थात् गुफा (ओडार) बनाइनेछ र सो भित्र दुईवटा उकालो बाटो हुनेछ । अत्याधुनिक प्रविधिको प्रयोग गरी भिमकाय माटोको ढिस्कोभित्र गुफा निर्माण गरिनेछ । सोही गुफाभित्र जमिनबाट भित्रभित्रै १०० मिटर उचाईसम्म जानको लागि उकालो गोरेटो निर्माण गरिनेछ । गुफाको टुप्पोबाट पानीको मूल फुटाइनेछ । दुईवटा बाटोको बीचमा पर्ने गरी तलतिर बग्ने खहरे खोलको निर्माण गरिनेछ । दुईवटा गोरेटो बाटोमध्ये एउटा पुरुषले र अर्को महिलालेमात्र प्रयोग गर्न पाउनेछन् । खहरे खोलाको छेउछाउमा प्रसस्त ठूल्ठूला ढुंगाहरु रहनेछन् ।’
‘गुफाको माथि टुप्पामा एउटा संग्राहालय बनाइनेछ । ओडारको बाटोहुँदै टुप्पामा पुगेका मानिसहरुले मेरा पूर्वजहरु, म आफू र मेरो परिवारले आर्जन गरेका सम्मान पत्रहरु, प्रशंशापत्रहरु, अभिनन्दन पत्रहरु, मेडलहरु, पुस्तक एवम् अन्य कृतिहरुको अवलोकन गर्न पाउने व्यवस्था मिलाइनेछ ।’ उनले उत्सुक हुँदै भने, ‘किन यस्ता सामग्री हेर्न यस्तो अप्ठ्यारो बाटोबाट जानु पर्ने रहेछ भन्ने कुरा आजको पुस्तालाई थाहा दिन सांकेतिक रुपबाट यस्तो संरचना बनाउन लागिएको हो । ती सम्मान, अभिनन्दन, प्रशंशापत्रहरु पैसाले किनिएका वस्तुहरु नभई हाम्रो योगदानको पहिचान हो, कदर हो भन्ने सबैलाई थाहा होस् ।’
पार्कको पूर्वीतटमा ठूलो घाँसे मैदान छ । १ विगाहाभन्दा ठूलो क्षेत्रफलको खाली मैदान राखिएकोमा जिज्ञासा राख्दा उनी भन्छन्, ‘यहाँ स्टेज प्रोग्राम गर्न सकिनेछ, आवश्यक परेमा हेलिप्याड बनाइनेछ । भोलिका दिनमा बिर्तामोडमा खाली जमिन नै नभेटेर हेलिकप्टर ल्याण्ड गर्नबाट बञ्चित हुन नपरोस् भनेर यस्तो गरिएको हो ।’
यत्रो ठूलो परियोजना सञ्चालन गर्न कति रकमको व्यवस्था गर्नुभएको छ भनी साझामञ्चको जिज्ञासामा उनी भन्छन्, ‘अन्यत्रको जमिन बेच्दै पार्कमा संरचना बनाउँदै छु, यत्ति नै रकम खर्च भयो भन्ने यकिन तथ्याङ्क राखेको छैन । पार्कको औपचारिक सुरुवात गर्ने बेलामा सार्वजनिक हुने नै छ ।’
सहरियाहरुको व्यस्त जीवनशैली, बढ्दो शहरीकरण र प्रदुषित वातावरणका कारण एकछिन भए पनि हरियाली एवम् प्राकृतिक वातावरणमा रमाउन चाहनेहरुलाई यो पार्क उपयोगी हुनेछ । फुर्सद र विदाको समयमा अभिभावकहरु आफ्ना बालबालिकासहित मनोरम वातावरण भएको खुल्ला पार्क, बगैंचा, मनोरञ्जनात्मक स्थलमा घुमफिर गर्न जान थालेका छन् । यस्तो आनीबानीमा विकास भइरहे पनि उपयुक्त स्थालको अभावलाई यही वर्ष सम्बोधन हुने भएको छ ।
ड्रिमल्याण्ड पार्कको निर्माणले पर्यटकीय एवम् पर्यावरणीय सुविधामात्र मिल्ने छैन, करिब ६० जनाजतिले प्रत्यक्ष रोजगारी पनि पाउने बताइएको छ । कम्तीमा २० वटा सिटीसिक्सा, २० वटा वाटरबोट, सुरक्षागार्ड, काउन्टर, पथप्रदर्शक, क्यान्टिन आदिमा रोजगारीको अवसर खुलाइने ढुङ्गानाले बताए । उनका अनुसार आफ्नै शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीले सबैभन्दा बढी रोजगारीको अवसर पाउनेछन् ।
करिब ४० वर्षभन्दा पहिलेदेखि शिक्षा क्षेत्रमा अनवरत ढुङ्गाना सर र उनकी पत्नी अञ्जना ढुङ्गानाले सरकारी विद्यालयको सेवा त्यागेर २०३५ सालमा तत्कालीन मेची अञ्चलकै पहिलो अंग्रेजी माध्यमको स्कूल खोलेका थिए । विगत १० वर्षदेखि व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको कक्षा सञ्चालन गरेर कनकाई एजुकेशन फाउण्डेसनलाई एउटै छानोमुनि नर्सरीदेखि स्नातकोत्तरसम्म अध्यापन गराइने नेपालकै पहिलो शिक्षण संस्थाको परिचय दिलाएका छन् ।
सामाजिक अभियानमा पनि उत्तिकै अग्रसर व्यक्ति हुन् ढुङ्गाना सर । बिर्तामोडका बासिन्दालाई चाडपर्वमा धुप बाल्न र एक लोटा पानी चढाउँन मन्दिर नभएको समयमा दुर्गा मन्दिरको स्थापना गर्नेदेखि अनेकन सामाजिक काममा उनको अग्रणी भूमिका छ । कनकाई माईको मलामी विश्रामालय, शौचालय, बिर्तामोडको अन्दुवा खोलामा फलामे पूलको निर्माण, विभिन्न सामुदायिक विद्यालय र क्याम्पसलाई शैक्षिक उन्नयनका लागि आर्थिक सहयोगजस्ता धेरै उल्लेखनीय सामाजिक काम उनले गरेका छन् ।
अब वातावरण संरक्षण गर्दै आन्तरिक पर्यटन एवम् मनोरञ्जनात्मक पार्कको निर्माण गरेर झापाकै लागि अर्को इतिहास बनाउन लागेका छन् । पैसा भएर पनि सामाजिक एवम् रचनात्मक कार्यमा प्रयोग गर्न नचाहनेहरुका अगाडि ढुङ्गाना सरको यस्तो सराहनीय कार्यको जति चर्चा गरे पनि कमै हुनेछ ।
Comments