Sajhamanch Archive

सुतेकै अवस्थामा ४३ नेपालीको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

सोल । ‘कोरियामा सुतेकै अवस्थामा नेपालीको मृत्यु’। यस्तैखाले हेडलाइनमा समाचार आइरहनु नयाँ होइन। मुख्यगरी वैदेशिक रोजगारमा दक्षिण कोरिया आएका नेपाली युवामा सुतेकै अवस्थामा ज्यान गुमाउने घटना अधिक छ। अन्य कारणले हुने मृत्युको तुलनामा सुतेकै ठाउँमा मृत्यु हुनेको संख्या उच्च रहेको तथ्यांकले देखाएको छ।

कोरियामा पछिल्ला ९ महिनाको अवधिमा ज्यान गुमाउने नेपालीको संख्या १३ रहेकोमा ११ जनाको मृत्युको कारण प्राकृतिक रहेको कोरियास्थित नेपाली दूतावासको तथ्यांक छ। प्राकृतिक कारणमध्ये अधिकांश घटना सुतेकै अवस्थामा हुने कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोला बताउँछन्।

त्यसो त ११ वर्षयताको तथ्यांक हेर्दा अन्य कारणले भन्दा सुतेकै ठाउँमा ज्यान गुमाउने नेपालीको संख्या बढी देखिन्छ।

इपिएसमार्फत नेपालीहरु कोरिया आएयता गतवर्षको सेप्टेम्बरसम्म सुतेकै अवस्थामा ज्यान गुमाउनेको संख्या ४३ रहेको दूतावासको तथ्यांकमा उल्लेख छ। पछिल्ला ९ महिनाको अवधिमा दूतावासले सञ्चालन गर्ने मानसिक स्वास्थ्य परामर्श लगायतका कार्यक्रमले आत्महत्याका घटनामा कमी आए पनि सुतेकै अवस्थामा हुने मृत्युको तथ्यांक भने डरलाग्दो छ।

यस्तो डरलाग्दो तथ्यांक आइरहँदा मृत्युको कारण पहिचान गरी समस्या समाधानमा भने नेपालको सरकारी पक्षबाट चासो देखाइएको पाईँदैन।

यसरी मृत्यु भएका नेपालीको शव स्वदेश फर्काएपछि पनि सरकारी स्तरबाट परीक्षण गरेर मृत्युको कारण पहिचान गर्न यहाँका नेपालीहरुले सरकारसँग आग्रह गरेका छन्।

सुतेकै अवस्थामा ज्यान गुमाउने व्यक्तिको शव दूतावासले परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई जानकारी गराएसँगै बोर्डले कल्याणकारी कोषमार्फत उपलब्ध गराउने रकमबाट नेपाल पठाइँदै आएको छ।

अहिलेसम्म कोरियामा सुतेकै अवस्थामा ज्यान गुमाएका नेपालीको मृत्युको कारण सहितको वास्तविक पोस्टमार्टम रिपोर्ट उपलब्ध नरहेको सोलस्थित नेपाली दूतावासको भनाइ छ। यहाँका अस्पतालहरुले दूतावासलाई उपलब्ध गराउने रिपोर्टमा मृत्युको कारणमा अज्ञात लेखेर पठाउने गरेका छन्।

अस्पतालहरुले शव पोस्टमार्टम गर्ने गरे पनि मृत्युको वास्तविक कारण सहितको अथोप्सी रिपोर्ट दिन नमान्ने र रिपोर्ट लिनका लागि मृतक परिवारले नै लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले यो काम झन्झटिलो भएको श्रम सहचारी बाँस्तोला बताउँछन्।

तर, सरकारले उच्च स्तरबाटै पहल गरेमा रिपोर्ट लिन सम्भव रहेको उनको भनाइ छ। ‘यहाँका अस्पतालहरुले हामीले माग्दा अथोप्सी रिपोर्ट दिन नमाने पनि सरकारले उच्च स्तरबाटै पहल गरे रिपोर्ट लिन सकिन्छ,’ उनी भन्छन्।

दूतावासले यहाँका रोजगारदाता र अस्पतालसँग समन्वय गरेर शव नेपाल पठाउने काम गर्दै आएको छ। त्यसरी मृत्यु भएका नेपालीको शव नेपाल पुर्‍याएपछि पनि सरकारी स्तरबाट परीक्षण गरेर मृत्युको कारण पहिचान गर्न यहाँका नेपालीहरुले सरकारसँग आग्रह गरेका छन्। नेपाल लाइभ बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *