डोटीमा आँखा पाक्ने रोगको महामारी
Published:
by .डोटी । डोटी जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ ।
शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताए ।
उनले भने, “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन ।” जिल्ला अस्पताल डोटीका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या अस्पतालमा दिनहुँ एक दजर्न बढी पुग्ने गरेको छ ।
यतिमात्र नभई यहाँका निजी मेडिकल तथा क्लिनिकमा पनि आँखा पाक्ने बिरामीको दैनिक भीड लाग्ने गरेको छ । दिपायल राजपुरस्थित पाण्डेय मेडिकलका हरिस पाण्डेयका अनुसार आँखा पाक्ने रोगबाट सबैभन्दा बढी स्कूले केटाकेटी तथा वृद्धवृद्धा पीडित बनेका छन् ।
यहाँका ग्रामीण क्षेत्रमा समेत यो रोगले विगत केही दिनयतादेखि विकराल रूप लिएको केआईसिंह गाउँपालिका–२ वासुदेवीका स्थानीयवासी शेरबहादुर ऐरले बताए । उनले भने, “केही दिनयतादेखि गाउँमा आँखा पाक्ने रोग शुरु भएको छ, आँखा पाक्न थालेपछि विद्यार्थीको स्कूल जानसमेत बन्द भएको छ ।”
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुगमन तथा मूल्याङ्कन अधिकृत टेकराज ओझाका अनुसार फोहर, धुलो धुवासँगै ‘व्याक्टेरिया’ तथा व्यक्तिगत स्वास्थ्य कमजोर भएका कारण आँखाको रोग एकअर्कामा सर्ने बढी सम्भावना हुने गरेको छ ।
आँखा पाक्ने रोग फैलिन थालेका कारण अरु विद्यार्थीमा सर्ने डरका कारण विद्यालयको पढाइसमेत दिनहुँ प्रभावित बन्न थालेको छ ।
Comments