Sajhamanch Archive

मेचीनगरका अधिकांश महिलामा पाठेघरको मुखमा संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काँकरभिट्टा । झापा मेचीनगरका अधिकाँश महिलाहरुमा पाठेघरको मुखमा संक्रमण देखिएको छ ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले नगरभरिका महिलालाई लक्षित गरी सोमबार काँकरभिट्टा स्वास्थ्य केन्द्रमा आयोजना गरेको निःशुल्क पाठेघर खस्ने रोगीको स्क्रिनिङ रिङ्गपेशरी तथा भिआईए परीक्षणमा आएका कुल संख्यामध्ये झण्डै ४० प्रतिशतमा यो समस्या देखिएको शाखा संयोजक तथा स्टाफ नर्स शशीकला राईले जानकारी दिइन् । उनका अनुसार कुल ७४ जनाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा यस्तो समस्या देखिएको हो । सातजनामा शंकाष्पदरुपमा पाठेघरको मुखको क्यान्सर देखिएकाले अन्यत्र रेफर गरिएको छ ।

चारजनामा पाठेघर (आङ खस्ने) समस्या देखिएको र तीनजनालाई रिङ पेसरी लगाएर पठाईएको थियो । यो प्रयोग गरेपछि तल्लो पेटको दुखाइ कम हुने र हिँडडुल गर्न केही सहज हुने चिकित्सकको भनाइ छ । तर पेसरी तिन तिन महिनामा फेरिरहनु पर्ने चिकित्सकहरू बताउँछन् । कम उमेरमै बच्चा जन्माउने समस्या, बाल विवाह, आहार विहार, सुत्केरी अवस्थामा गह्रुँगो भारी भोक्नु जस्ता कारण पाठेघर खस्ने कारण हुने चिकित्सकहरूको भनाइ छ ।

शिविरमा विर्तामोडस्थित विएण्डसी अस्पतालका डाक्टर मनोहरकुमार राय, स्वास्थ्य सहायक विवश पौडेल, भिआईए परीक्षणका तालिम प्राप्त सिनियर अनमी उमा उप्रेती अधिकारी, भिआईए परीक्षणका तालिम प्राप्त स्टाफ नर्स शशीकला राई, स्वास्थ्य शाखा अधिकृत रामनारायण यादव, स्वास्थ्य सहायक तालबहादुर खड्का, सिनियर अहेव लेखनाथ खतिवडा, हरिशचन्द्र देवकोटा अनमी विद्या शिवाकोटीलगातले सेवा प्रदान गरेका थिए ।

झापा जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा पाठेघर खस्ने समस्या देखिएका अधिकांश महिलाहरूको अवस्था कहाली लाग्दोे रहेको स्वास्थ्य कर्मीहरूको भनाइ छ । उनीहरूले स्वयम् रोग लुकाउने गरेकाले यस्तो अवस्था सिर्जना भएको स्वास्थ्य कर्मीहरूले जनाएका छन् ।

सरकारले पाठेघर खस्ने महिलाहरूलाई लक्षित गरी निःशुल्क शल्याक्रियाको व्यवस्था गरेको छ । तर,पाठेघरको समस्या भएका धरै महिला समाजमा हल्ला हुने र तिरस्कृत भइने डरले पनि खुलेरै उपचारका लागि नआउने गरेको मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पीताम्बर ठाकुर बताउँछन् । तराईका जिल्लाभन्दा पूर्वी पहाडी जिल्लाका अधिकांश महिलाहरू यसबाट पीडित बन्ने गरेको डाक्टर ठाकुरको भनाइ छ । ‘पाठेघर खसेको पहिचान भए समाजबाटै अपहेलित भइन्छ ।’ दुहागढीकी एक महिलाले भनिन्,‘त्यसैले पनि हामी खुलेरै आफ्नो समस्याका बारेमा बोल्न सक्दैनौँ ।’ नेपाल सरकारले पाठेघर (आङ खस्ने) रोगीहरूका लागि ल्याएको निःशुल्क शल्यव्रिmया सेवा मेची अञ्चल अस्पताल भद्रपुरलगायत अन्य स्वास्थ्यकेन्द्रमा समेत छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *