Sajhamanch Archive

सेनाले चलाएको गोली लागेर ३० जनाको मृत्यु, सयौं घाइते

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । सुडानको राजधानी खार्तुम सेनाले चलाएको गोली लागि मृत्यु हुनेको संख्या कम्तिमा ३० पुगेको छ ।

सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली प्रहार गरेको हो । घटनामा सयौं घाइते भएका छन् ।

सेनाले खार्तुमस्थित एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको अधिकारकर्मीहरुले जनाएका छन् ।

सैन्य मुख्यालय अगाडि धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले गोली चलाएको हो । प्रदर्शनस्थलमा लगातार गोली चलेको आवाज आएको पनि बताइएको छ ।

सैनिक शासनविरुद्ध प्रदर्शनकारीहरु सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए ।

आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ ।

चिकित्सकहरुको केन्द्रीय टोलीले घटनामा सयौं व्यक्ति घाइते भएको र मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने दाबी गरेको छ ।

रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य संघसंस्थाले पनि खार्तुममा ठूलो संख्यामा प्रदर्शनकारीहरु मारिएको र आपत्कालिन सहयोगको आवश्यकता परेको बताएका छन् ।

सुडानी प्रोफेसनल एसोसिएसन ९एसपीए०ले सेनाले ‘रक्तपातपूर्ण आमहत्या’ गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्णरूपमा असफल तुल्याउन ‘नागरिक अवज्ञा’ गर्न आह्वान गरेको छ ।

सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैंले लिएको थियो ।

सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् ।

(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *