मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै
Published:
by .काठमाडौं । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् ।
अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।
विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।
आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।
आज नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुने गर्दछ ।
सो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो ।
यसैगरी घण्टाघरमै रहेको काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ ।
पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’मा उल्लेख छ ।
यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ ।
इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ ।
सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । सोे दान पनि गरीबलाई नै दिइन्छ ।
Comments