वातावरण दिवसको अवसरमा भद्रपुरमा बृक्षारोपण, वक्तृत्वकला प्रतियोगिता
Published: (Updated: )
by .भद्रपुर । विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुरमा १२ बिगाह क्षेत्रफलमा विभिन्न जातका विरूवा रोपिएकोे छ ।
वन डिभिजन कार्यालय झापाको आयोजनामा चन्द्रगढी सामुदायिक वन क्षेत्रमा रहेको १२ बिगाहा खाली जमिनमा विभिन्न प्रजातिका विरूवा रोपिएको हो । “स्वच्छ वायु, स्वास्थ्य जीवन” नाराका साथ मनाइएको विश्ववातावरण दिवस सफल पार्न डिभिजन वन कार्यालय झापाले भद्रपुर स्थित चन्द्रगढी सामुदायिक वन क्षेत्र रोजेको हो ।
डिभिजन वन झापाका प्रमुख विष्णुलाल घिमिरेको अध्यक्षता तथा प्रदेश संसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
छात्राछात्रा वक्तृत्वकला पनि सम्पन्न
यसै दिवसको अवसर पारेर भद्रपुर नगरपालिकाले मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
‘वातावरण संरक्षणमा बाबालिकाको भूमिका’ विषयमा आयोजित वडास्तरीय प्रतियोगितामा छात्रातर्फ भद्रपुर–९ की रुक्सुम गुरागाईं प्रथम, वडा नं ८ की आराध्य पोखरेल दोस्रो, वडा नं १० की निशा लामिछाने तेस्रो र वडा नं ३ की शान्ता राईले सान्त्वना पुरस्कार जितेकी छन् ।
यसैगरी, छात्रतर्फ वडा नं ८ का आर्यन कटुवाल प्रथम, वडा नं १० का दृष्टान्त लम्साल दोस्रो र वडा नं ७ का आदित्य पोखरेल तेस्रो भए भने वडा नं ३ का प्रवेश अधिकारीले सान्त्वना पुरस्कार हात पारे ।
वडा नं १० को सभाहलमा सम्पन्न प्रतियोगिताको अध्यक्षता नगर बाल सञ्जालका उपाध्यक्ष आराध्य पोखरेलले गरेकी थिइन् भने सञ्चालन १० नं वडा सचिव मनकुमार डाँगीले गरेका थिए ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले विजयीहरुलाई पुरस्कार प्रदान गरेका थिए । ‘स्वच्छ वायु, स्वच्छ जीवन’ भन्ने नाराका साथ आज जुन ५ तारिकका दिन विश्व वातावरण दिवस मनाइँदैछ ।
Comments