गौरवका आयोजना छायामा परेः कांग्रेस
Published:
by .काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाध्यक्ष तथा सांसद सीतादेवी यादवले सरकारले गौरवमय पूर्वाधारलाई छायामा राख्न खोजेको आरोप लगाएकी छिन् ।
‘‘यो सरकारले सानातिना कुरामा अल्झिएर गौरवमय पूर्वाधारलाई छायामा राख्न खोजेको छ,’’ उनले भनिन्, ‘‘त्यसको ज्वलन्त उदाहरण हो बूढीगण्डकी जलविद्युत आयोजना बजेटमा नसमेटिनु ।’’
सांसद यादवले सरकारले काम गर्न नसकेकै कारण चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेका मेलम्ची, तामाकोशी, रेल, जलमार्गलगायतका योजनाहरु योजनामै सीमित भएको बताइन् ।
उनले सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि ल्याएको बजेट वितरणमुखीमात्रै भएको टिप्पणी गरिन् । ‘‘सरकारले प्रशासनिकबाहेक विकास बजेट मात्र २४ प्रतिशत छुट्टयाएको छ, त्यसैले यो बजेट उत्पादनमुखी नभएर वितरणमुखी बनेको छ,’’ यादवले भनिन् ।
उनले सरकार बजेटबाटै संघीयता खारेज गर्न खोजिरहेको आरोप समेत लगाइन् । कुल बजेटको २० प्रतिशत बजेटमात्र प्रान्तीय र स्थानीय सरकारलाई छुट्टयाउनुले सरकार संघीयताको विपक्षमा रहेको प्रमाणित भएको सांसद यादवको भनाइ थियो ।
‘‘सरकारले केन्द्रका लागि ८० प्रतिशत र प्रान्त तथा स्थानीय सरकारलाई २० प्रतिशतमात्रै बजेट छुट्टयाएको छ । देश संघीयतामा गइसकेपछि पनि बजेटलाई केन्द्रिकृत गर्नु बिडम्बना हो,’’ यादवले भनिन् ।
Comments