Sajhamanch Archive

हात्तीको आवागमन स्थानदेखि रेडपाण्डाको बासस्थानसम्म मोटरसाइकल यात्रा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । नेपालकै बाटो भएर विदेशी पर्यटकलाई पूर्वी पहाडका धार्मिक एवम् पर्यटकीय क्षेत्र पुग्न सकिन्छ भन्ने सन्देश दिन शनिबारदेखि झापाको काँकरभिट्टाबाट मोटरसाइकल यात्रा गरिने भएको छ ।

काँकरभिट्टाबाट शुरु हुने मोटरसाइकल यात्रा इलामको सन्दकपुर पुग्ने छ । यात्रामा नेपालसहित भारत र भुटानका गरी ३० जना सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

‘हात्तीदेखि रेडपाण्डासम्म’ भन्ने उद्घोषका साथ हुने मोटरसाइकल यात्रामा रेडपाण्डाको बासस्थानको संरक्षण र हात्ती हिड्ने करिडोरको अवस्थाका बारेमा अध्ययन अवलोकन गरिने यात्रा आयोजक मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन समितिका कार्यकारी निर्देशक केशब धौरालीले जानकारी दिएका छन् ।

भारतको बाटो भएर पूर्वी पहाडी जिल्लाका पर्यटकीय स्थलमा अत्याधिक पर्यटक आउने भएपनि नेपालको बाटो प्रयोग गर्ने पर्यटकहरुको संख्या न्यून रहेकाले पनि यो मोटरसाइकल यात्रामा नेपाली बाटोका बारेमा समेत प्रचारप्रसार गरिने धौरालीले बताए ।

इलामको सन्दकपुर जाने पर्यटकहरुमा भारतीय बाटो प्रयोग गरेर जानेको संख्या नै अत्याधिक रहेकाले सन्दकपुर जान नेपाली बाटो प्रयोग गराउने पनि यो यात्राको उद्देश्य रहेको यात्राको सहजीकरण गरिरहेको ग्रीन जेनेरेशनका अध्यक्ष अर्जुन कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यात्राका क्रममा टोलीले ठाउँठाउँमा नेपाली कला र संस्कृति झल्किने साँस्कृतिक कार्यक्रमसहित रेडपाण्डाको बासस्थानका बारेमा समेत स्थानीयसँग छलफल गर्नेछ । र्यालीमा सहभागीलाई सो रुटमा पर्ने झापा र इलामका पालिकाहरुले खान र बस्नेसहित अन्य सुविधा उपलब्ध गराउने बताइएको छ ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारको उक्त लक्ष्य प्राप्तीका लागि पनि मोटरसाइकल यात्राले सहयोग पुर्याउने कार्यकारी निर्देशक धौरालीको विश्वास छ ।

उनका अनुसार पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका पर्यटकीय तथा धार्मिक स्थलहरुमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ, भारतीय बजारमा यहाँका के कस्ता वस्तुको माग छ, त्यसतर्फ विचार पुर्याउनसमेत सो यात्राले मद्धत पुग्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *