Sajhamanch Archive

सन्दकपुर चिनाउन मोटरसाइकल र्याली

Published: in राष्ट्रिय समाचार, by .

मेचीनगर । ग्रामीण पर्यटन प्रवद्र्धन र हात्तीदेखि रेडपाण्डासम्मको वासस्थान संरक्षण गर्ने उद्देश्यले शनिबारबाट झापाको काँकरभिट्टादेखि इलामको सन्दकपुरसम्मको साताव्यापी मोटरसाइकल र्याली शुरु भएको छ ।

नेपाल, भारत र भुटानबाट र्यालीमा सहभागीलाई १ नम्बर प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण संसदिय विकास समितिका सभापति सीता थेवेले विदाई गरेकी थिइन् । उनले यो र्यालीले सरकारको सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने घोषणालाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरीन । सभापति थेवेले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्रियाउने लक्ष्य लिएको र सरकारको उक्त लक्ष्य प्राप्तीका लागि पनि यो मोटरसाइकल र्याली कोशेढुंगा सावित हुने बताईन् ।

उनले सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफलतारुपमा प्रचार प्रसार गर्नका लागि टेवा गुग्ने हेतुले प्रदेश सरकारले सहयोग गरेको बताईन् । नेपालकै बाटो भएर विदेशी पर्यटकलाई पूर्वी पहाडका धार्मिक एवम् पर्यटकीय क्षेत्र पुग्न सकिन्छ भन्ने सन्देश दिनपनि मोटरसाइकल र्याली आयोजना गरिएको र्याली आयोजक मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिका कार्यकारी निर्देशक केशव धौरालीले जानकारी दिए । रेडपाण्डाको बासस्थान मानिएको तीनकुने क्षेत्रमा रेडपाण्डाको विषयमा छलफल र रेडपाण्डा नियाल्ने कार्यक्रमसमेत तय गरिएको छ ।

पर्यटन कार्यालय काँकरभिट्टाबाट शुरु भएको उक्त र्याली २७ गते साँझ इलामको सन्दकपुर पुग्ने उद्घाटनका क्रममा कार्यकारी निर्देशक धौरालीले जानकारी दिए । ‘हात्तीदेखि रेडपाण्डासम्म’ भन्ने उदघोषका साथ शुरु मोटरसाइकल ¥यालीमा रेडपाण्डाको बासस्थानको संरक्षण र हात्ती हिड्ने कोरिडोरको अवस्थाका बारेमा समेत टोलीले अध्ययन अवलोकन गर्ने छ । झापाकोे काँकरभिट्टाबाट शुरु मोटरसाइकल र्याली झापाको बाहुनडाँगी, कृष्ण थुम्की, बहुवन, कमेरे पहाड हुँदै बुधबारेको हाफ पाइन्ट चोक हुँदै मेची राजमार्ग निस्केर इलामको रोङ गाउँपालिकाको कुुटडाँडा, कन्याम माइखोलाहुँदै इलाम आएर बास बस्ने कार्यक्रम तय गरिएको छ ।

भारतको बाटो भएर पूर्वी पहाडी जिल्लाका पर्यटकीय स्थलमा अत्याधिक पर्यटक आउने भएपनि नेपालको बाटो प्रयोग गर्ने पर्यटकहरुको संख्या न्यून रहेकाले नेपालकै बाटो भएर पनि सन्दकपुर पुगिन्छ भन्ने कुराका बारेमा समेत प्रचारप्रसार गर्नु र्यालीको उद्देश्य रहेको छ । सन्दकपुर इलाम जिल्लाको सवैभन्दा वढी उचाईमा अर्थात ३ हजार ६ सय ३६ फिट उचाईमा रहेको स्थान हो । यहाँ बार्षिक करिव एक लाख पर्यटक आउने गरेका छन् । तर सवै भारतको बाटो भएर मात्र आउने गरेका छन् ।

कार्यक्रममा बोल्दै १ नम्बर प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुगांनाले यदि हामीले ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा लाग्ने हो भने आन्तरिक एवम् वाह्य पर्यटकको चहल पहल हुने र त्यसले हरेक व्यवसायीको कारोवारमा समेत बृद्धि हुने बताए । उनले प्रदेश भित्र रहेका पर्यटकीय एवम् धार्मिक स्थलको विकासका लागि प्रदेश सरकार लागि परेको जानकारी गराएका थिए ।

प्राकृतिक, भौगोलिक, सांस्कृतिक, पुरातात्विक तथा जैविक विविधताको दृष्टिकोणले नेपालमा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको बताउँदै १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले पर्यटन क्षेत्रमार्फत धेरैले प्रत्यक्ष रोजगारी पाएको तथा पर्यटक नेपाल आएकै कारणले नेपाली हस्तकला तथा नेपाली उत्पादनले राम्रो बजार पाएको बताए । उनले पर्यटकलाई कसरी आफुतिर आर्कषण गर्ने त्यसबारेमा व्यवसायी लाग्नुपर्ने र हरेकले पर्यटकमैत्री बन्नु पर्नेमा जोड दिए । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले केही समय पर्यटन व्यवसायलाई असर पारे पनि क्रमशः पर्यटकको वृद्धि भएको उनको भनाई थियो ।

स्थानीय स्तरमा प्रसारप्रसार गर्ने हो भने अझै धेरै देशबाट धेरै पर्यटक अवश्य नेपाल भित्र्याउन सकिने उनले बताए । नेपालमा पर्यटन व्यवसाय र पर्यटकको लागि सबै थोक भएर पनि सोचे अनुरूप पर्यटन व्यवसाय फस्टाउन र पर्यटकको आगमनमा वृद्धि हुन नसकेको बताइएको छ । पर्यटन क्षेत्रको विकास एवम् पर्यटकको आगमन त्यस देशको राजनीतिक अवस्थामा पनि निर्भर हुने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य बताउँछन् । स्थानीय सरकारको हैसियतले मेचीनगरपालिका आफ्ना नगरभित्रका पर्यटकीय क्षेत्रको विकासका लागि जुटेको उनको भनाई छ ।

जबसम्म राजनीतिक स्थिरता कायम गरी नेपाल सुरक्षित छ भनेर आम पर्यटकलाई प्रत्याभूति दिलाउन सकिँदैन तबसम्म नेपालले सोचे अनुरूप पर्यटक भित्र्याउन गाह्रो हुने सहभागीहरुको भनाई थियो । इलामको सन्दकपुर आउने पर्यटकहरुमा भारतीय बाटो प्रयोग गरेर जानेको संख्या नै अत्याधिक रहेकाले पनि सन्दकपुर जान नेपाली बाटो प्रयोग गराउने पनि यो यात्राको मुख्य उद्देश्य रहेको यात्राको सहजीकरण गरिरहेको ग्रीन जेनेरेशनका अध्यक्ष अर्जुन कार्कीको भनाई छ ।

र्यालीका क्रममा टोलीले ठाउँ ठाउँमा नेपाली कला र संस्कृति झल्किने साँस्कृतिक कार्यक्रमसहित रेडपाण्डाको वासस्थानका बारेमा समेत स्थानीयसँग छलफल गर्ने छ । र्यालीमा सहभागीलाई विभिन्न झापा तथा इलाम जिल्लाका पालिकाहरुले खान र वस्नसहित अन्य सुविधा उपलब्ध गराएका छन् । यो र्यालीले पुर्वी पहाडी जिल्ला इलाम, पाचथर तथा ताप्लेजुङका पर्यटकीय तथा धार्मिकस्थलहरुमा धेरै भन्दा धेरै पर्यटक भित्रियाउन सकिन्छ, भारतीय बजारमा यहाँका के कस्ता वस्तुको माग त्यसतर्फ विचार पुर्याउन समेत यसले मद्धत पुग्ने सहभागीले विशवास व्यक्त गरेका छन् ।

पर्यटन देशकै अर्थतन्त्रको मुख्य स्रोत भएकाले तीनै तहका सरकार आफ्नो क्षेत्रमा भएका पर्यटक एवम् धार्मिक स्थलको प्रवद्र्धन र विकासमा लाग्नु जरुरी छ । संसारको अग्लो शिखर सगरमाथा, संसारको अग्लो स्थानमा रहेको तिलिचो ताल, हिमाल आरोहण, ¥याफ्टिङ, विविध धर्म संस्कृति, भाषा,भेषभूषा, ताल तलैया, सिमसार क्षेत्र, खोलानाला, पहाड, लोपोन्मुख जीवजन्तु, चराचुरुङ्गी, लालीगुराँस जस्ता कुराले नेपाल स्वर्गको देश भनेर चिनिन्छ । तर यसको प्रचार प्रसारमा भने ध्यान दिन भने जरुरी देखिएको र्यालीमा सहभागीको भनाई छ । आइतवार इलाम सदरमुकामबाट बिब्ल्याँटे हुँदै सन्दकपुर गाउँपालिकाको सुलुबुङ हुँदै ढाप पोखरीमा गएर साँस्कृतिक झाँकी सहितको कार्यक्रममा सहभागी भएर तीनकुनेमा गएर बस्ने कार्यक्रम तय भएको छ । र्यालीमा मोटरसाइकल विग्रीएमा मर्मत टोली,औषधि उपचारको टोली सहित अन्य ब्यवस्थापनको टोली समेत सहभागी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *