टुट, जुट अनि फुटको अन्तर्य
Published: (Updated: )
by .२०४६ सालको आन्दोलनपछि मुलुकमा धेरै राजनीतिक दलहरु उदाए अनि अस्ताए । त्यही आन्दोलनले तीस वर्ष लामो निरंकुश पञ्चायती व्यवस्थालाई ढाल्यो र देशमा बहुदलीय व्यवस्थाको स्थापना भयो । त्यसपछि पञ्चायती व्यवस्थाको विरुद्धमा लागेका वा पञ्चायत ढाल्न आन्दोलनमा होमिएका त्यसबेलाको संयुक्त वाममोर्चा र नेपाली काँग्रेसमात्र होईन पञ्चायती व्यवस्थामा हालीमुहाली गदैं पञ्चायत बचाउन लागेका पञ्चहरुले समेत पार्टी जन्माए राष्ट्रिय प्रजातन्त्र पार्टी । जसलाई पूर्व पञ्चहरुको पार्टी भनिन थालियो ।
०४६ सालको जनान्दोलनपछि जसरी वर्खामा च्याउ उम्रिए झैँ राजनीतिक दलहरु जन्मिए त्यसरी नै फुट्ने क्रम पनि बढ्दै गयो । दाउ सबैको उही थियो–पद र नेतृत्व हुत्तियाउने । जति बेला सातवटा बाम घटकहरु २०४६ सालको आन्दोलनमा संयुक्त वाममोर्चाका नाममा अग्रमोर्चा थियो बहुदलीय व्यवस्थापछि टुक्रा टुक्रा भए । नेपालका कम्युनिष्ट पार्टीमा जुटभन्दा फुटको अभ्यास धेरै छ । पुरानो इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलन प्रायः जसो टुटफुट, गुट र कहिलेकाहीँ एकताका श्रृंखलाबाट गुज्रँदै आएको छ । गुटगत राजनीति नेपालका कम्युनिष्ट पार्टी र नेताहरुको एउटै समस्या हो । सैद्धान्तिक–राजनीतिक विषयमा मत मतान्तरभन्दा पनि धेरैजसो व्यक्तिगत स्वार्थ, पद–प्रतिष्ठा र अवसरकै कारण कम्युनिष्ट पार्टीहरू जुट्ने र फुट्ने गरेको पाइन्छ ।
नेपालमा कम्युनिष्ट पार्टीको इतिहास हेर्ने भने २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीमा २०१९ सालको तेस्रो महाधिवेशनपछि नै दुई लाइनको संघर्ष भन्दै समूहगत विभाजनको श्रृंखला शुरु भएको यसका जानकारहरु बताउँछन् । दक्षिणपन्थी, उग्रवामपन्थी, यथास्थितिवादी, दरबारपरस्त जस्ता आरोप प्रत्यारोप मात्र होइन फुटका लागि पार्टीको नाममा मोटो ‘श’ र पातलो ‘स’ लेख्ने, कमा कि फुलस्टप लेख्ने भन्ने नै नेपाली कम्युनिष्ट पार्टीहरु फुट्ने क्रम चलिरह्यो ।
आफुलाई सच्चा कम्युनिष्ट ठान्ने समूहहरु २०४६ सालसम्म आइपुग्दा एक दर्जनभन्दा बढी पार्टी बने । एउटा धार कोओर्डिनेसन केन्द्र, माले, माक्र्सवादी हुँदै २०४७ सालमा नेकपा एमालेका रुपमा विकसित भयो । त्यस्तै अर्कोधार चौम, मशाल, एकता केन्द्र हुँदै नेकपा (माओवादी) बन्न पुगेको इतिहास साक्षी छ ।
पञ्चायत लडाएर प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको जन आन्दोलनपछि प्रजातन्त्र प्राप्तिसँगै एमाले संसदीय राजनीतिमा सहभागी भयो । तर एकता केन्द्र पहिलो संसदीय चुनावलाई उपयोग गर्दै नेकपा माओवादीका नाममा २०५२ सालदेखि सशस्त्र संघर्षमा होमिएको इतिहास छ । अहिलेसम्म नेपालका कम्युनिष्ट पार्टीको फुट र एकता सैद्धान्तिक भन्दा समूह र व्यक्तिगत टकराव, पद र प्रतिष्ठा अनि पार्टीभित्र र नेता नै पिच्छेका गुट उपगुटकै कारण भएको देखिन्छ ।
एमाले २०५४ सालमा फुटेर माले बन्यो । त्यो विभाजन लामो समयसम्म टिकेन । फेरि २०५८ सालमा एकता भयो । जनमत बलियो भएपनि विभाजनकै कारण विगतमा कम्युनिष्ट पार्टीले स्थिर र बहुमतको सरकार बनाउन सकेनन् । त्यसो त १० वर्ष सशस्त्र संघर्ष गरेर २०६२–०६३ साल पछि खुला राजनीतिमा आएको नेकपा माओवादीमा पनि तीव्र रुपमा फुट सुरु भयो । माओवादी धारबाट मोहन वैद्य र नेत्रविक्रम चन्द (विप्लव)को अलग–अलग पार्टी अझै यो अभियान बाहिर छ । डाक्टर बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीसहित पूर्व माओवादी नेता कार्याकर्ताहरुका समेत अलग अलग पार्टी छन् । सबै शुरुको नेकपा माओवादीबाट विभाजित भएर बनेका पार्टी हुन् । तर डाक्टर बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्व संघीय समाजवादी फोरम पार्टी एकीकरण भएर समाजवादी पार्टी नेपाल बनेको छ ।
अहिले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि ‐नेकपा ) नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ । जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न र जनमतको कदर गर्दै स्थीर सरकार सञ्चालन गर्न बाटो खोलेको छ । नेपालमा सम्पन्न प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा नेकपाले २०७४ असोज १७ गते बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीलाई समेत समेटेर चुनावी तालमेलसँगै पार्टी एकता गर्ने घोषणा गरेपनि त्यसको केही दिनपछि नै बाबुराम भट्टराई कम्युनिष्ट दलसँगको तालमेलबाट अलग्गिएर काँग्रेससँगको गठबन्धनमा सामेल भएपछि सम्बन्ध चिसियो ।
तालमेल गर्दै एउटै पार्टी बनाउने घोषणा गरेर चुनावमा होमिएका एमाले र माओवादीले बहुमत हासिल गरे । तर अहिलेपनि नेपालका धेरै कम्युनिष्ट पार्टीअझै बाहिर छन् । अहिले सीपी मैनाली नेतृत्वमा नेकपा माले, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत ससाना कम्युनिष्ट पार्टीहरु सक्रिय छन् । २०४७ सालमा गठन भएको नेपाल मजदुर किसान पार्टी पनि अलग्गै पार्टीका रूपमा छ ।
२००६ साल चैत २७ गते स्थापना भएको नेपाली काँग्रेस यहाँसम्म आइपुग्दा पार्टी फुटकै कारण गुट उपगुटका कारण यो अवस्थामा छ । भारतको कोलकातास्थित टाइगर सिनेमा भवनमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकीकरण समेत २७ चैतमा भएको थियो । त्यसपछि पार्टीको नाम नेपाली काँग्रेस रहन गयो । त्यसयता पार्टीको नाम बदलिएको छैन । तर काँग्रेसका नेताहरुले यस दिन कुनै विशेष सम्झना गर्दैनन् । काँग्रेसले २००३ सालको नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको माघ १२ गतेलाई नै आधिकारिक पार्टीको स्थापना दिवस मनाउँदै आएको स्वयम् पार्टीका नेता कार्यकर्ताहरु बताउछन् । काँग्रेसको इतिहास ठूलो छ । तर काँग्रेसका नेताहरु अहिले साँघुरो घेरामा गएको बताउन थालिएको छ । पार्टीले बिपीको विचारका साथै राष्ट्रियता, लोकतन्त्र, समाजवाद, सुशासन र वैदिक सनातन धर्म संस्कृतिको रक्षालाई मुख्य मुद्दा बनाएको छ ।
पूर्व पञ्चहरुले पञ्चायत ढलेपछि खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टी समेत दर्जनाँै पटक फुट्दै र जुट्दै छ । लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, पशुपति शमशेर राणा, डाक्टर प्रकाशचन्द्र लोहनी कमल थापासम्मले पूर्व पञ्चहरुको पार्टी राप्रपा फुटान र जुटाउन भ्याए । हाम्रो देशमा राजनीतिक दलहरु फुट्ने र जुट्ने क्रम खासै नयाँ होइन । जुटिसकेपछि सबैले भन्ने चाहि एउटै नारा हुन्छ–अब यो वैकल्पिक र नयाँ शक्तिको रुपमा उभिएको छ । पछिल्लो पटक उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच एकीकरण भयो । २३ बैशाखमा राजधानीमा निक्कै तामझामका साथ यादव र भट्टराईले दुवै पार्टी एकीकरण भई समाजवादी पार्टी नेपाल गठन भएको घोषणा गरे र भने संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण नयाँ शक्तिको उदय र वैकल्पिक पार्टीको रुपमा छ । पार्टी फुट्ने र जुट्ने क्रम निरन्तर छ । के यो मुलुकमा अब वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता साच्चै छ यसको जवाफ नेपाली जनताले खोजिरहेका छन् ।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण साँच्चै नयाँ राजनीतिक शक्तिको उदय र वैकल्पिक पार्टीको रुपमा आएको हो जनताले जान्न चाहेका छन् । एकीकृत पार्टीको मूल सिद्धान्त संघीय समाजवाद हुने तय गरिएको छ । पार्टी एकीकरण घोषणा कार्यक्रममा प्रस्तुत गरिएको नौबुँदे आधार पत्रमा संघीय फोरमले अवलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँ शक्ति पार्टीले अवलम्बन गरेको समुन्नत समाजवादको आधारमा संघीय समाजवादको सिद्धान्तबाट अघि बढ्छ भनेर उल्लेख गरिएको छ के व्यवहारमा देखिन्छ त ? संविधान संशोधनमार्फत देशका प्रगतिशील रुपान्तरण, दिगो विकास, समातामूलक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिवद्धता पार्टीले गरेको छ ।
यसरी विगतलाई निहाल्दै भविष्यको बाटो कोर्ने हो भने अनुभव लिन र भावी कार्यदिशा तय गर्न नेपाली राजनीतिक पार्टीहरुलाई यथेष्ट उदाहरणहरु छन् । तर नयाँको नाममा दम्भ मात्र देखाउने र गफ बढी र काम कम गर्दा नेपाली राजनीति अझै पनि धुमलिएकै छ, सफा भने बनेको छैन । विगतको टुट, जुट अनि फेरि फुटको राजनीतिबाट पाठ सिक्दै अबको समय सापेक्ष राजनीतिक संस्कारको थालनी गर्ने बेला आइसकेको छ । अब पनि पाठ नसिके समय घर्किएको कसैलाई थाह सम्म पनि हुने छैन ।
Comments