Sajhamanch Archive

मेचीनगरमा २ जनामा डेंगुको संक्रमण फेला, लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियान शुरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

मेचीनगर । झापाको मेचीनगरमा २ जना डेंगु रोगी फेला परेका छन् । मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरामा डेंगुको संक्रमण देखिएको हो ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सुनसरीको धरानमा अध्ययनमा रहेका बखत २२ वर्षीय छोरालाई डेंगु भएको र उनको हेरचाहामा पुगेकी ४९ वर्षीया आमामा समेत डेंगुको लक्षण देखिएको हो । पछिल्लो समय सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको छ । यसअघि जिल्लाको भद्रपुर, विर्तामोड, अर्जुनधारालगायतका पालिकामा ८ जना डेंगु संक्रमण व्यक्ति फेला परेका थिए ।

मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार उनीहरुको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनका अनुसार पछिल्लो समय अहिलेसम्म मेचीनगरमा डेंगुका रोगी फेला परेका थिएनन् । झापामा पहिलो पटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो । धरानमा रहेका बखत दुवैजनामा डेंगु संक्रमण देखिएको बताइएकोछ ।

नगरमा डेंगु संक्रमित फेला परे लगत्तै मेचीनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियान शुरु गरेको छ । आइतबार मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शशीकला राई सह संयोजक रामनारायण यादव नेतृत्वको जनप्रतिनिधि, आमा समुह, टोल, विकास संस्थाका प्रमुख प्रतिनिधिसहितको टोलीली लार्भा खाजेर नष्ट गर्ने काम शुरु गरेको छ ।

डंगुको भाइरस संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने भएकाले लामखुट्टेले पार्ने अण्डा, त्यसबाट विकसित हुने लार्भा खोजेर नष्ट गर्न थालिएको संयोजक राईको भनाई छ । पछिल्लो समय सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएपछि मेचीनगर नगरपालिकाले यसबाट बच्न नगरवासीलाई आग्रह गरेको थियो । नगरपालिकाले यसका लक्ष्ण, बच्ने उपायलगायतका बारेमा चेतनामुलक कार्यक्रम, प्रचार प्रसार गर्ने काम गरिरहेको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु संक्रमणबाट जोगिन र जनचेतनामूलक अभियानबाटै यो रोग निर्मुल पार्नु बढी प्रभावकारी हुने भएकाले विविध चेतनामुलक कार्यक्रम गर्ने जनाएको छ ।

पोथी लामखुट्टेले पार्ने अण्डा, त्यसबाट विकसित हुने लार्भा र लामखुट्टे चाहिँ जन्मिँदै संक्रमित भएर जन्मिने स्वास्थ्यकर्मीहरुको भनाई छ । पछिल्लो समय सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको छ । हरेक वर्ष झापामा वर्षा सकिने बित्तिकै डेंगुका रोगी बढ्ने गर्छन् । यो लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुने गर्छ । एउटा लामखुट्टेले ५ जनासम्मलाई रोग सार्ने गर्छ । गाउँमा भन्दा शहरमा यो लामखुट्टे प्रशस्त पाइने गरेको छ ।

डेंगुका विरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा विमिरा आउने, वाक–वाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा पर्ने संयोजक राईले बताइन् । संक्रमितले चिकित्सकको सल्लाह अनुसार मात्रै औषधि लिने, प्रशस्त आराम गर्ने, झोल खानेकुरा खाने गर्नुपर्ने उनको सुझाव छ । तीव्र सहरीकरण भएको ठाउँमा फोहर विसर्जन अव्यवस्थित हुँदै गएको र त्यही फोहरबाट डेंगु सार्ने लामखुट्टे जन्मिने, अनि रोगको प्रकोप शुरु हुने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *