जिल्ला स्तरीय प्रतियोगितामा होराइजन मावि प्रथम
Published:
by .मेचीनगर । झापा जिल्ला स्काउट कार्यालयले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा इष्ट होराइजन अंग्रेजी आवाशिय मावि जिल्ला प्रथम भएको छ ।
नेपाल स्काउटको २३ औं वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालित प्रतियोगिताको १२ विधामध्ये उक्त विद्यालय ७ वटामा उत्कृष्ट हुँदै जिल्ला प्रथम भएको हो ।
तीन दिवशीय प्रतियोगितामा सो विद्यालय समूहगत नृत्य, चित्रकलाको छात्र तथा छात्रा र समूहगत भेषभूषा प्रदर्शनीतर्फ प्रथम भएको छ ।
त्यस्तै, हाजिरीजवाफ, वक्तृत्वकलाको छात्रातर्फ र मार्चपासमा दोस्रो स्थान प्राप्त गरेको धुलाबारीस्थित उक्त विद्यालय हस्तकला विधामा तेस्रो बनेको छ ।
इष्ट होराइजन अंग्रेजी आवाशिय माविले प्रायोजन गरेको जिल्लास्तरीय कार्यक्रम अन्र्तगत आयोजित प्रतियोगिताको समग्र विधामा झापा मोडल(जेम्स) दमक, होलिबेल अंग्रेजी विद्यालय धुलाबारी र वीरेन्द्र नमूना मावि चन्द्रगढी क्रमशः जिल्ला दोस्रो, तेस्रो र चौथो भए ।
नेपाल स्काउटको स्थापना दिवशको अवसरमा आयोजित प्रतियोगितामा जिल्ला प्रथम, द्धितीय, तृतीय र चौथो स्थान हाँसिल गर्ने विद्यालय र विधागत रुपमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
आइतबार आयोजित प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि इष्ट होराइजन अंग्रेजी आवाशिय माविका प्रिन्सिपल सञ्जीव राई, सभापति जिल्ला स्काउट आयुक्त भुवन सुब्बा, नेपाल स्काउटका वरिष्ठ प्रशिक्षक शिवकुमार पौडेललगायतले उत्कृष्ट विद्यालय एवम विद्यार्थीलाई पुरस्कृत गरेका हुन् ।
इष्ट होराइजन अंग्रेजी आवाशिय माविको खेल मैदानमा सञ्चालन गरिएको प्रतियोगिता समापन कार्यक्रमको सञ्चालन झापा स्काउट संगठन आयुक्त अरुण बस्नेत र रेञ्जर लिडर शिवानी देवानले गरेका थिए ।
Comments