Sajhamanch Archive

स्तरीय कम्पनीको भिजन कस्तो हुन्छ ?

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by .

भिजन स्टेटमेन्ट भनेको अरू केही होइन यो त केवल सोचको चित्रण मात्र हो । ध्यान पूर्वक तयार गरिएको भिजन स्टेटमेन्ट हरेक सफल व्यवसायीको दिलमा सधैँ हुने गर्छ । किनकि यसले तपाईँको व्यवसायलाई सधैं लक्ष्यसँग जोडिराख्छ र कुनै पनि रणनीतिक निर्णय लिनुपर्दा मार्गदर्शन दिन्छ ।

तपाईँको कम्पनी जतिसुकै सानो वा ठुलो होस् तर हरेक कम्पनीको स्पष्ट भिजन हुन निकै जरुरी छ । कम्पनीलाई निश्चित समयपछि कुन स्थानमा पुर्‍याउने भन्ने सोचको चित्रण जति सरल शब्दमा जति सक्यो छोटो वाक्यमा लेख्न सकियो त्यति प्रभावकारी हुन्छ । जस्तो गुगलको भिजन, “To provide access to the world’s information in one click.”

फोव्र्स अर्वपति विनोद चौधरीको कम्पनी चौधरी ग्रुपको भिजन सन् २०२० सम्ममा ५ बिलियन डलरको कम्पनी बन्ने छ । यति स्पष्ट भिजन भई सकेपछि विनोद चौधरी उनका छोराहरू र त्यहाँ कार्यरत सबै कर्मचारी कसरी कम्पनीलाई सन् २०२० सम्ममा ५ बिलियन अमेरिकी डलरको कम्पनी बनाउने भन्नेमा केन्द्रित हुन्छन् । यसले कम्पनीमा काम गर्नेहरूलाई सधैँ उत्प्रेरित गर्न मद्दत गर्छ । पश्चिमा मुलुकहरूमा गरिएको एक अनुसन्धानले के देखाएको छ भने कम्पनीको भिजन के छ भन्ने कुरा प्रष्टसँग बुझेका कर्मचारीको संलग्नता कम्पनीको भिजन नबुझेका कर्मचारीको तुलनामा ६८ प्रतिशतले बढी हुन्छ ।

हामी मध्ये धेरै जना कम्पनीको भिजन र मिसन एउटै हो भनेर झुक्किन्छौ । तर, बुझ्नु पर्ने कुरा के छ भने, मिसन स्टेटमेन्ट कम्पनीको वर्तमान अवस्थामा केन्द्रित हुन्छ भने भिजन स्टेटमेन्ट भविष्यको लक्ष्यमा केन्द्रित हुन्छ । अर्थात् मिसन स्टेटमेन्टले कम्पनीको व्यवसाय कसरी चल्दैछ भन्ने प्रश्नको उत्तर दिन्छ भने भिजन स्टेटमेन्टले व्यवसाय कहाँ जाँदैछ भन्ने प्रश्नको उत्तर दिन्छ ।

‘डे वान एजेन्सी’ नाम गरेको मार्केटिङ्ग कम्पनीमा रचनात्मक अनुभव बटुल्दै लामो समय बिताएका कम्पनीको भनाइमा मिसन भनेको क्रियाकलाप र भिजन भनेको आकाङ्क्षा हो । क्रियाकलाप अहिले गरिन्छ, आकाङ्क्षा पछिका लागि राखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *