रतुवामाई वृक्षारोपण आयोजनालाई नमुनाको रुपमा विकास गर्नु पर्ने सांसद दलार्मीको जोड
Published: (Updated: )
by .कमल । वन नियन्त्रण सम्बन्धि एक्सन प्लान बनाएर स्थानियवासीसँग कार्यक्रम सन्चालन गर्ने हो भने आयोजनाको अतिक्रमित हुँदै गरेको जमिन जोगिने प्रदेश सांसद झलकसिं दलार्मीले बताएका छन् ।
प्रदेश नं. १ को एकमात्र सरकारी वन झापाको रतुवामाई वृक्षारोपण आयोजनाको वन अतिक्रमण नियन्त्रण सम्वन्धि अन्तक्रियामा बोल्दै संसाद दलार्मीले वन नियन्त्रण सम्बन्धि नियमित रुपमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया नहुनु र वन नियन्त्रणमा एक्सन प्लान नभएका कारणले आयोजनाको क्षेत्र अतिक्रमण भएको बताए ।
आयोजनाको मातहतमा भएको वनको क्षेत्रफल अतिक्रमण हुन थालेपछि त्यसलाई कसरी रोक्न सकिन्छ भनेर आयोजनाले सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया गरेको आयोजनाले जनाएको छ । कार्यक्रममा रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख खेमलाल वि.क.ले आयोजनाकोतर्फ बाट वनक्षेत्र अतिक्रमण हुनुका कारण समाधानका उपाय लगायतका विषय समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए ।
पुर्वमा माईखोला पश्चिममा रतुवा खोला उत्तरमा ईलामको चुलाचुली गाउँपालिका र दक्षिणमा पुर्वपश्चिम राजमार्गको सिमाना जोडिएको यस आयोजनाको क्षेत्रफल २ हजार ७ सय ५३ दशमलव ७६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यतिधेरै क्षेत्रफलमा फैलिएको आयोजनाको अहिले चारैतिरबाट अतिक्रमण हुन थालेको छ । विभिन्न संघ सस्था, खेलमैदान, सुरक्षा निकाय लगायले २९ दशमलव ९ हेक्टर जमिन अतिक्रमण गरेको प्रतिवदनमा उल्लेख गरीएको छ ।
आयोजनासँग सिमाना जोडिएका स्थानिय तहका प्रमुख, सामुदायिक वनका प्रतिनिधी, सरकारी वन कार्यालयका प्रतिनिधी स्थानिय संघ संस्थाका प्रतिनिधी बीच वन अतिक्रमण रोक्ने विषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा आयोजनाले वार्षिक रुपमा अतिक्रमण्म रोक्ने विषयमा नीति तथा कार्यक्रम बनाउनु पर्ने, सरोकारवाला निकायसँग नियमित छलफल तथा अन्तरक्रिया गर्नुपर्ने, आयोजनाबाट उत्पादन भएको काठ दाउरा निश्चित प्रतिशत स्थानीयबासीलार्ई प्रयोग गर्न दिनुपर्ने उद्योग तथा वन वातावरण मन्त्रालय प्रदेश नम्बर १ का सचिव बद्रीनाथ ढुङ्गानाले बताए ।
प्रदेश नम्बर १ को गहनाको रुपमा रहेको यो आयोजनालाई जोगाउन सबै सरोकार वाला निकायको हातेमालो आवश्यक रहेकोले सबै मिलेर यसलाई जोगाउन लाग्नुपर्ने वन पैदावर विकास समितिका अध्यक्ष चन्द्रमान डंगोलले बताए । आयोजनाको केही जमिन व्याक्तिको नाममा दर्ता गराउन ठुलै चलखेल भैरहेकोले यसलाई रोक्न आयोजना लाग्न पर्ने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
आयोजनाले वन अतिक्रमण जोगाउन के कस्ता कार्यक्रम सन्चालन गर्दैछ त्यो वारे जानकारी हुन आवश्यक छ । अतिक्रमण रोक्ने पहिलो दायित्व आयोजनाको हो । अतिक्रमण रोक्ने ठोस कार्यक्रम बनाएर आएमा साथ दिन तयार रहेको शिवसताक्षी नगरपालिकामा मेयर चन्द्रकुमार शेर्माले बताए । आयोजनाको सिमाना निश्चितगरी घेरावार गरेमा अतिक्रमण हुनबाट जोगीने चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राईले बताए ।
वि.सं. २०३३ सालमा स्थापना भएको रतुवामाई वृक्षारोपण आयोजनामा वातावरणीय र आम्दानीको दृष्टिले उपयोगी हुने खालका वृक्षारोपण गर्नु पर्ने, चरिचरण नियन्त्रण गर्नुपर्ने स्थानिय निकायसँग समन्वय गरी खेलमैदान, सिमसार क्षेत्र व्यवस्थित गर्दै आयोजनालाई नमुनाको रुपमा विकास गर्नु पर्ने अन्य सहभागीहरुले बताएका छन् ।
Comments