Sajhamanch Archive

ट्रम्पद्धारा आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक चुनावी अभियान सुरु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी वर्ष हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।

ट्रम्पले फ्लोरिडाको ओरल्यान्डोबाट आफ्नो दोस्रो कार्यकालका लागि चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन् ।

ओरल्यान्डमा गरिएको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान सुरु गरेका हुन् । उनले अमेरिकालाई ‘महान’ बनाइराख्न थप चार वर्ष आफूलाई विश्वास गर्न आग्रह गरेका छन् ।

अभियानको औपचारिक र्‍यालीमा प्रथम महिला मिलानिया ट्रम्प पनि साथमै थिइन् । सन् २०१६ मा डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टनलाई पराजित गरेर राष्ट्रपति बनेका ट्रम्पले सन् २०२० को चुनावमा गम्भीर चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।

व्यापार र आप्रवासी सम्बन्धी कडा नीतिका कारण ट्रम्पको आलोचना भइरहेको छ । उनका विभिन्न नीति तथा कार्यशैलीले धेरै अमेरिकीमा असन्तोष पैदा भएको विश्लेषण गरिन्छ ।

यस्तै, साढे दुई वर्षको कार्यकालमा बढ्दै गरेको अर्थतन्त्र र कम भएको बेरोजगारी ट्रम्पका सकारात्मक पक्ष मानिएको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार को बन्ने भन्ने तय भइसकेको छैन । पार्टीबाट उम्मेदवारी जित्नका लागि नेताहरुको कसरत चलिरहेको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *