Sajhamanch Archive

माछामा आत्मनिर्भर बन्दै झापाली उपभोक्ता

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by .

अर्जुन कार्की

झापा । विगत केही वर्षदेखि माछा उत्पादनमा भारतको भर पर्दै आएका नेपाली उपभोक्ता अब आत्मनिर्भर बन्न थालेका छन् ।

नेपालमै माछा मनग्य उत्पादन हुन थालेपछि उपभोक्ता पनि भारतीय माछाको भर पर्न छोडेका हुन् । सरकारले केही वर्षदेखि माछा उत्पादनमा अनुदान दिन थालेपछि किसान आत्मनिर्भर बन्नतिर उन्मुख भएका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तरगत झापामा माछाको ब्लक छुट्टाएर एक हेक्टर क्षेत्रफल बराबर तीन लाख रुपैयाँ सरकारले अनुदान दिने गरेको छ ।

सोही अनुसार झापामा अधिकांश किसानले माछापालन व्यवसाय थालेका हुन् । गत वर्ष मात्र जिल्लामा ३ दशमलव ५ मेट्रिक टन माछा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । जिल्लाको करिव ३० हेक्टर क्षेत्रफलमा किसानले माछा पोखरी सञ्चालन गरेका छन् ।

स्थानीय तहमा नगरपालिका र गाउँपालिकाले किसानलाई प्रति हेक्टर क्षेत्रफलमा माछा उत्पादनका लागि अनुदान दिन थालेको पनि बुझिएको छ ।

गौरादह नगरपालिकामा १२ हेक्टर क्षेत्रफलमा किसानले माछापालन शुरु गरेको मत्स्य विकास अधिकृत प्रदीप श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै कमल गाउँपालिकामा करिव २० लाख रुपैयाँको मत्स्यपालन बजेटमा किसानले धमाधम माछा पोखरी शुरु गर्न थालेको जनाइएको छ ।

गौरादह २ का लक्ष्मण खनालका अनुसार विगतमा जतिप्रयास गर्दा पनि सफलता प्राप्त भएन । त्यो बेला भारतबाट आउने माछाले उँभो लाग्न दिएन । अहिले भारतको माछा क्रमिकरुपमा विस्थापित हुँदै गएको खनालले बताए ।

नगरपालिकाको अनुदानमा माछा पोखरी शुरु गरेका खनालले भने, ‘केही वर्षभित्र जिल्लामा माछा उत्पादन प्रशस्तै हुन्छ । भारतको माछा विस्थापित गरेरै छाड्छौँ ।’

केही वर्षअघि भारतीय माछाले नेपाली बजारमा बर्चस्व जमाएको थियो । तर, अहिले विगतको तुलनामा भारतीय माछाको आयात घट्दै गएको छ ।

एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाको वार्षिक तथ्याङकले पनि यसको पुष्टि गर्छ । कार्यालयका अनुसार २०७०/७१ मा भारतबाट २ हजार ७९ दशमलव ६६५ मेट्रिक टन उपभोग्य माछा नेपाल आयात भएको थियो भने २०७१/७२ मा भारतबाट २ हजार १०८ दशमलव ६६५ मेट्रिक टन आयात भएको तथ्याङ्क छ ।

त्यस्तै, २०७२/७३ मा भारतबाट १ हजार ७३५ दशमलव ६१५ मेट्रिक टन माछा नेपाल आयात भएको थियो भने २०७३/७४ मा १ हजार ६७४ दशमलव ८८ मेट्रिक टनमात्र आयात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

२०७४/७५ को साउनदेखि जेठसम्म भारतबाट १ हजार ४१० दशमलव १७ मेट्रिक टन माछा आयत भएको तथ्याङ्क छ । माथि उल्लेख गरेको तथ्याङ्कले पनि २०७१ सालपछि २०७५ जेठसम्म क्रमिक रुपमा आयात घट्दै गएको देखिन्छ ।

यो तथ्याङकले के पुष्टि गर्छ भने नेपालमा माछाको उत्पादन बढ्न शुरु गरेकोले भारतबाट आउने माछामा गिरावट आएको हो । क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहका अनुसार पछिल्लो समय नेपाल माछामा आत्मनिर्भर हुन थालेको संकेत गर्छ ।

‘नेपाली किसानले माछाको उत्पादन बढाउँदै लगे भारतबाट आउने माछाको आयातमा कमी आउने निश्चित छ’ उनले भने । विगतको तुलनामा यस वर्षदेखि ६० प्रतिशत आयातमा कमी हुँदै गएको तथ्याङ्कले देखाउँछ ।

छामेरै खानयोग्य सिफारिस

स्वस्थ र सुरक्षित खाद्यवस्तु नागरिक अधिकारभित्रै पारेको दाबी गर्ने सरकारले पूर्वको मुख्य अन्तर्राष्ट्रिय सीमानाकाबाट विश्वसनीय परीक्षण बेगरै खाद्यवस्तु भित्र्याउन दिइरहेको छ । यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने र जोखिम उच्च हुने भए पनि सरकारले समस्या देखेको नदेख्यै गरिरहेको छ ।

झापाका विभिन्न बजारमा भारतबाट आयातित विषादीयुक्त माछा छ्यापछयाप्ती रुपमा पाइन्छन् । नेपाली तथा भारतीय व्यापारीले भारतबाट ल्याएका माछालगायत तरकारीमा केही समयअघि विषादी फेला परेपछि सरकारले देशका मुख्य नाकामा तरकारी तथा खाद्यवस्तु परीक्षणको प्रबन्ध गर्ने बताएको थियो ।

तर, सरकारी सुस्तता यत्ति गहिरो छ कि यहाँ भएको प्रयोगशाला प्रयोगबिहीन बनेको छ । परीक्षणको प्रबन्ध गर्ने अन्य पहलसमेत शून्य बराबर छ ।

‘मुख्य सीमानाकामा व्यवस्थित प्रयोगशाला सञ्चालन गर्ने र जनशक्ति परिचालन गर्ने दायित्व सरकारको हो’ मेची भन्सार कार्यालयका एक अधिकृत भन्छन् ‘तर, त्यतातर्फ सरकारले ध्यान दिएको छैन । यो ज्यादै चिन्ताको विषय हो ।’

भारतबाट आयात हुने माछा काँकरभिट्टा नाकाबाट नाङ्गो आँखाले हेरेको र हातले छामेकै भरमा नेपाल भित्रिने गरेको छ । काँकरभिट्टास्थित क्वारेन्टाइन कार्यालयले भारत तथा तेस्रो मुलुकबाट आयात हुने माछा छामेर तथा हेरेरै ‘खानयोग्य’ भन्ने सिफारिस दिइरहेको छ ।

काँकरभिट्टाको क्वारेन्टाइन कार्यालयमा चेकजाँचका लागि प्रयोगशाला छ, प्राविधिक पनि छन् । तर, हेरेरै थाहा पाउने कार्यालयको भनाई छ । क्वारेन्टाइनमा उच्च प्रविधिको प्रयोगशाला भने छैन ।

एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहका अनुसार पूर्वी नाकाको मेची भन्सार कार्यालयबाट आयात हुने माछा चेकजाँच गर्ने प्राविधिक भए पनि नभए पनि हेरेकै भरमा प्रमाणित गर्ने गरिएको छ ।

सिंह भन्छन् ‘शंंका लागे चेकजाँच गरिन्छ, त्यस्तो ठूलो समस्या भेटिए फुड ल्याव र क्षेत्रीय ल्याबमा पठाउने गरिएको छ ।’

‘माछाको खास चेक गर्ने भनेको फर्मालियन हो’, सिंहले भने ‘फर्मालियन किट हामीसँगै छ । शंका लागेर पठाउन जरुरी लाग्यो भने बाहिर चेकजाँचमा लग्ने गरेका छौँ ।’

उनका अनुसार विशेष गरेर आइसप्याक माछा जतिदिनसम्म चिसो पारेर राख्न सकियो उतिदिनसम्म ताजा राख्न सकिन्छ । ‘माछामा कुन रोग छ भन्ने यहाँबाट थाहा हुँदैन’, उनले भने, ‘बाहिरबाट मरेको माछा आइसप्याकमा राखिएको हुन्छ । त्यसको फर्मालियन चाहिँ यति छ भनेर यहाँ थाहा पाउन सकिन्छ ।’

५-१० दिनसम्म आइसपेकमा राखिएको माछा खान मिल्ने सिंहको भनाई छ । भारतबाट आएका जिउँदा वा मरेका माछाको गिल्स र आँखा हेरेर तथा छामेर खान योग्य हो वा होइन थाहा हुने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *