Sajhamanch Archive

मेची अञ्चल अस्पतालको उपचार सेवा विरामी मैत्री बन्न सकेन

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by .

भद्रपुर । जिम्मेवारी बोधको अभावले मेची अञ्चल अस्पताको उपचार सेवा विरामी मैत्री बन्न नसक्दा निजी अस्पताल धाउने बाध्यता बढ्न थालेको छ ।

अस्पतालमा उपचार गर्न आउने बिरामीहरूले डाक्टर तथा कर्मचारीको विभिन्न बाहनाले सास्ती भोग्नु पर्ने अवस्थाले गर्दा सरकारी अस्पतालको अविश्वास बढी निजी अस्पताल धाउनु पर्ने बाध्यता बढेको हो । अस्पतालमा जिम्मेवारी लिएका अधिकांश डाक्टरहरू दिउँसो १.०० वजे पछि आफ्नो कार्यकक्षमा भेटिने गरेका छैनन् ।

आकस्मिक कक्षमा बिरामीको लाइन लामै भएपनि जिम्मेवारी लिएका डक्टर हेर्नेवाला छैनन् । टिकट काउन्टर खुल्ला हुन्छ तर ओपिडी सेवा लिन आउनेको लागि सम्पूर्ण डाक्टहरुको कोठा बन्द रहन्छ ।

विहिबार १.४५ बजे हात भाँचिएर उपचारका लागि आकस्मिक उपचार कक्षमा लगिएका ११ वर्षीय बालकको उपचार गर्ने डाक्टर नभएपछि निजी अस्पताल लानु परेयो । हुन त सो कक्षमा एक जना मेडिकल अफिसर र केही नर्सिङ स्टाफ थिए । रोइरहेको बच्चालाई हेर्न अनुरोध गर्दा ड्युटीका डक्टर केवलकुमार कपुरी एक्सरेको बिल काट्न, दुखाइ कम हुने औषधी लिन र हातमा पट्टी लगाउन बिरामीका आफन्तलाई निर्देशन दिन व्यस्त देखिन्थे ।

अस्पतालको बेथितिको जानकारी दिन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरलाई फोन गर्दा आफू काम विशेषले बाहिर रहेको भन्दै अन्य डाक्टर, प्राविधिक र प्रशासनिक कर्मचारी अस्पतालमै रहेको जानकारी दिएका थिए । तर, विशेषज्ञ डक्टर १.०० वजेपछि बाहिर निस्किसकेको, ल्याब तथा एक्सरे शाखाका कर्मचारी निजी क्लिनिकमा रहेकोसम्म जानकारी पाइएपछि बिरामीका आफन्तले निजी अस्पतालमा बिरामी लिएर जानु परेको पीडित शरण राईले जानकारी दिए । अस्पताल छेउमा प्राय डाक्टरहरूको आ आफ्नै क्लिनिक रहेकै कारण २ नबज्दै अस्पतालबाट डाक्टरहरू बाहिर निस्किए पनि अस्पताल छेउमा उनीहरू व्यस्त हुने गरेको पीडितहरूको दुखेसो छ ।

अस्पताल परिसर भित्र फोहोर सङ्कलन गर्न राखिएका अधिकाम्स डसिबन भरिएका थिए । जहाँ बिरामीले प्रयोग गरेका र फोहोर जन्य सामग्रीले भरिएको अवस्थामा देख्न सकिन्थ्यो । केही बिरामी कुरुवाहरूले डसिबन भरिएका कारण बाहिरै फोहोर फ्याल्दै गरेको देख्न सकिन्थ्यो । यसले गर्दा समेत बिरामी र बिरामी कुरुवाहरूलाई यसको प्रत्यक्ष असर पुगिरहेको छ ।

आमजनतालाई सहज र गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिनुपर्ने सरकारी अस्पतालभित्रको बेथितिले सर्वसाधारण मर्कामा परेका छन् । प्रायः गरी चर्को शुल्कका कारण निजी अस्पतालमा उपचार गराउन सम्भव नभएकाहरू उपचार गर्न सरकारी अस्पतालमा जाने गर्छन् । तर सरकारी अस्पतालमै डाक्टर नबसिदिँदा गरिबहरूको स्वास्थ्य उपचारको भरोसा मानिएको अधिकांश सरकारी अस्पताल आफैँ बिरामीजस्तो देखिन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *