झापामा धान सुपरजोन सफल, बजारीकरणको समस्या
Published:
by .भद्रपुर । झापामा धान सुपरजोन मार्फत कृषिमा आधुनिकीकरण गर्दै यान्त्रिकीकरणको सफल प्रयोग गरेपछि व्यवसायिक धान खेती शतप्रतिशत बढेको छ ।
तर अबैध रूपमा भारतबाट भित्रिने धानका कारण नेपाली किसानको उत्पादन झापाली धानले मूल्य नपाउँदा समस्यामाको चाङ थुपरिन पुगेको छ । नेपाली कृषि उपज सरकारले नकिन्ने र व्यापारीले भाउ नदिएपछि सुपरजोन क्षेत्रका किसानले फलाएको धानले मूल्य पाउन नसकेकाकारण व्यवसायिक कृषिमा समस्याको चाङ थुपरिन पुगेको हो ।
सरकारले मूल्य निर्धारण नगरेको फाइदा उठाउँदै व्यापारीले लागत नै नउठ्ने गरी आपूmखुसी भाउ तोकेका कारण किसानले उत्पादन गरेको धान त्यसै थन्क्याउन बाध्य भएका छन् । सरकारले धानमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा पटक–पटक गरेको छ । तर, स्वदेशी किसानले फलाएको धानले मूल्य पाउन सकेको छैन । नेपालमा वार्षिक २४ अर्ब रुपैयाँभन्दा बढीको चामल भारत र बंगलादेशबाट आयात हुने गरेको छ । यो आयातको बिदेशी बाटो रोक्न झापाको धान खरिद गर्ने भरपर्दो पाटो किसानले समेत पाउन सकेका छनैनन् ।
किसान चुडाराज भट्टराई भन्छन् “व्यापारीले भनेको जति पैसामा दिए मात्र धान उठ्ने गरेको छ । ‘धान थे्रसर गरेर राख्यो । काँटा लिएर व्यापारी जोख्न आउँछन् तर जति पैसा दिन्छन् त्यतिमै चित्त बुझाउनु पर्छ । हामीले आफूले गरेको खेतीमा मूल्य तोक्न पाउने अवस्था छैन ।’, उनले भने— व्यापारीले धान प्रतिमन ६ देखि ७ सय रुपैयाँमा किन्छन् । तर, यसबाट लगानीसमेत नउठ्ने भएपछि बेच्नुको अर्थ छैन ।”
सुपरजोनका कृषि अधिकृत सागर विष्टका अनुसार एक मन धान फलाउन ६ देखि सात सय रुपैयाँ त किसानको लागत नै पर्छ । तर, व्यापारी किसानको लागत उठ्ने गरी मूल्य दिन तयार छैनन् ।
झापामा चैते धान लागतका कारण पनि सस्तो पर्छ भने मंसिरमा उत्पादन हुने हिउँदे धान महंगो लागतका कारण मूल्य पनि महंगो नै हुने गर्छ । चैते धानको तुलनामा हिँउदे धानले बढी मूल्यमा बिक्री भएको किसान बताउँछन् । तर, लागत अनुपातमा दुबैे उत्पादनले उचित मूल्य नपाएका कारण किसान भने व्यवसायिक खेतीबाट तर्सने अवस्था छ । अधिकृत विष्टका अनुसार दक्षिण झापाको धान सुपरजोन क्षेत्रमा एक हजार सात सय जना किसानले चैते धान उत्पादन गरेका छन् । गत साल प्रतिकट्ठा सय किलो फलेको चैते धान यसपालि प्रतिकट्ठा एक सय १० किलोसम्म फलेको अनुमान छ । उत्पादनमा भने प्रतिवर्ष उकालो लाग्ने क्रम जारी छ । ‘धान त फल्यो नि तर के गर्नु मूल्य छैन । भारतबाट आएका जस्तोसुकै चामललाई महंगो मूल्यमा खरिद गर्ने नेपाली, नेपालमै उत्पादन भएको चामल खस्रो भनेर खादैनन्, कृषक रुद्रप्रसाद गौतमको भनाई छ ।
झापाको दक्षिण भेग कचनकवल नेपालकै होचो ठाउँ हो। जहाँ केही वर्ष अघिसम्म सबै जमिन बाँझो र केही फाट्टफुट्टले मात्र चैते धान लगाउँथे । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपरजोन क्षेत्र घोषणा गरेसँगै यो ठाउँले नयाँ परिचय पाएको छ । यहीका स्वदेशी किसानले फलाएका धानले मूल्य पाउन सकेको छैन । तर वार्षिक २४ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भने रोकिएको छैन ।
पहिला–पहिला खेती लगाउँदा खर्च र दुःख पनि अत्यधिक हुनाले प्रशस्त जमिन भए पनि सिँचाइलगायत सुविधा थिएन । किसानमा खेती गर्ने जाँगर हुँदैनथ्यो । किसान उत्तमलाल गणेश भन्छन् ‘सरकारले दक्षिणी झापालाई धान सुपरजोन घोषणा गरेपछि किसानले धेरै सुविधा त पाएका छन् । तर धान बिकेको छैन । यसले व्यवसायिक कृषिको लक्ष्यमाथि प्रहार गर्ने निश्चित छ ।’ उनका अनुसार चैते धानमा चिस्यानको मात्रा बढी हुने हुनाले यो धान घरमा लामो समयसम्म राख्दा पनि कुहिने र उम्रिने डर हुन्छ । ‘सरकारले धान कसरी धेरै फलाउने भनेर सिकायो तर फलेको धान कहाँ बेच्ने ? र कसले किन्छ भन्ने ठेगान लगाउन सकेन’, गणेशको दुखेसो छ, ‘मेहनेत खेर जाने भो ।’
झापाका कचनकबल गाउँपालिकाका ७ वटै वडा र भद्रपुर नगरपालिकाको १,२,३ नम्बर वडा धान सुपरजोन क्षेत्र हुन् । सिँचाइमा ८५ प्रतिशत अनुदान पाएसँगै उक्त क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि अधिकांश कृषक २ बालीतर्पm लागेको धान सुपरजोन सञ्चालक समितिका संयोजक नवराज भट्टराईको भनाइ छ । भट्टराईका अनुसार अहिले सुपर जोन क्षेत्रमा ‘हर्दिनाथ १’ नामको चैते धान कृषकले मन पराएका छन् । उक्त धानको उत्पादन पनि सोचेभन्दा राम्रो निस्कियो। तर जति सुकै उत्पादन भए पनि किसानले मूल्य नपाउने भएकाले कतिपय कृषकले पाकेको धान बिक्री गर्न नसकेर थन्क्याएका छन् ।
धान सुपरजोनका वरिष्ठ कृषि अधिकृत धनबहादुर थापा खाद्यान्नमा आत्मनिर्भर भई निर्यात गर्न पुग्ने गरी किसान उत्पादन गर्न तयार रहेको अवस्था छ, तर राज्यले बजारीकरणमा कुनै पहल नगर्दा यो समस्या भएर आएको बताउँछन् । उनका अनुसार गत वर्ष ८ सय हेक्टरमा लगाइएको चैते धान यो वर्ष १५ सय हेक्टर क्षेत्रफलमा लगाइएको छ । अहिले फलेको धान असार १० गतेसम्म भण्डारण गरिसक्नुपर्छ नत्र बिग्रिने डर हुन्छ ।
सौर्य उर्जा प्रणलीको सिञ्चाइ र यान्त्रिक उपकरणको सहज उपलब्धले झापामा धान उत्पादन लक्ष्यभन्दा बढी हुन पुग्यो तर बजारीकरण सहज र कृषकको लागत अनुपात अनुसार हुन नसक्दा कृषक पलायन हुने संकेत देखिएको छ । कृषिमा परनिरभरता अन्त्य गर्न सरकारले कृषि उपज खरिद गर्ने वातावरण बनाउनु पर्ने कृषकको माग छ ।
Comments